बैतडी -बाजुरा, बैतडी र डडेल्धुराका उच्च हिमाली भागमा हिमपात भएको छ । हिमपातको कारण उक्त क्षेत्रमा अत्यधिक मात्रामा जाडो बढेको छ। बिहीबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यो वर्ष मंसिरमै सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिबेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भेगमा हिमपात भएपछि वस्तुभाउ घाँसको समेत समस्या भएको स्थानीयले बताए।हिमपालतका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टि सडकखण्डमा पर्ने बडिमालिका र बुढिनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपालत हुँदा त्यो क्षेत्रमा चल्ने जीप सेवा बन्द भएको छ। सेवा बन्दा हुँदा यात्रुहरु सदरमुकामक मार्तडीमा अलपत्र परेका छन् ।
यस्तै बैतडी जिल्लाका सतबाँझ, खोड्पे, श्रीभावर, सिगासधुरा, रौलाकेदार,जित्कीजुवाँड, ग्वाल्लेकधुरालगायतका उच्च भू-भागमा हिमपात भएको स्थानीयले जनाएका छन् । हिमपातले उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातले सवारी साधन सञ्चालनमा समेत समस्या भएको छ । हिमपातले सडक अबरुद्द हुँदा सवारी र यात्रु बिच बाटोमा नै अलपत्र परेका छन् ।
हिउँदे झरीसँगै डडेल्धुरा जिल्लाको अनारखोली, साहुखर्क, हगुल्टे लेकमा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । अनारखोली, हगुल्टेलेक सहित साहुखर्कमा आधा फिट जति हिमपात भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । चिसोका कारण डडेल्धुरा जिल्लाको जनजीवन पनि प्रभावित बनेको छ ।हगुल्टे लेक, साउखर्क र उच्च लेकाली भागमा अहिले पनि हिमपात भइरहेको छ ।
हिमपातका कारण बिहानैदेखि डडेलधुराको भिमदत्त राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध भएका छन् । दशरथ चन्द राजमार्गको अनार खोली र भिमदत्त राजमार्गको साहुखर्कमा हिमपात भएपछि दुवै राजमार्ग अवरुद्ध भएका छन्।अबरुद्द राजमार्ग खुलाउने प्रयास भईरहेको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठलेले बताए ।