डडेलधुरा — यो वर्ष वर्षेबालीको उत्पादन ६ प्रतिशले बढेको छ । ६ सय ५३ हेक्टरमा लगाइएको गरिमा जातको धानमा बाला नलागेर २८ सय ९५ टन उत्पादन कम हुँदा–हुँदै पनि उत्पादन बढेको हो । अर्को प्रमुख खाद्य बाली मकैको उत्पादन पनि विगतको तुलनामा बढेको क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांकले देखाएको छ ।
बर्खामा हुने दालजन्य गेडागुडी सहित कोदो, फापर जस्ता लोप हुँदै जान थालेका अन्नबालीमा पनि यस वर्ष उत्पादन बढेको छ । यो सँगै तरकारीको बीउ उत्पादनमा त झन्डै १४ प्रतिशत बढेको तथ्यांकले देखाएको छ ।
उत्पादन बढेसँगै भटमास खरिद गर्न गाउँगाउँमा व्यवसायीबीच प्रतिस्पर्धा चलेको छ । २ वर्ष अघिसम्म भटमास व्यवसायमा केही व्यापारीको एकलौटी कब्जा थियो । यातायात सुविधाले बजार पाउन सहज भएको छ । भटमास खरिद गर्न हरेक गाउँमा सदरमुकामका व्यवसायीले काँटा लगाएका छन । भटमास मात्र होइन तरकारी, परम्परागत उत्पादन कोदो, फापर, दालजन्य उत्पादन मास, गहत, राजमासहित पहाडी उत्पादन गाउँबाटै बिक्री भइरहेको छ ।
अझै परम्परागत रुपमा खेती भइरहेका धेरैजस्तो उब्जाउ जमिन बाँझो देखिन्छन । क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्ट थोरै कृषकले पनि व्यावसायिक उत्पादनमा लागेपछिको परिणामका रुपमा यसलाई बुझ्नुपर्ने बताउँछन ।
औसतमा हरेक अन्नबाली ७ वर्षयता झन्डै १५ प्रतिशतले बढेको क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांकमा देखिन्छ । विष्टका अनुसार खेतीयोग्य क्षेत्रफल मात्र बढेको होइन, वर्षमा २ पटक हुने अधिकांश खेती ३ पटक हुन थालेको छ ।’ उदाहरणका लागि मकैको वर्षमा ३ पटक खेती हुन थालेको छ । धान खेती पनि धेरै ठाउँमा २ पटक हुन थालेको छ ।
उत्पादनका क्षेत्रमा तरकारी र बीउ–बिजनले पनि ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रमा कार्यरतहरू प्राविधिकहरू बताउँछन । वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले भने, ‘आधुनिक कृषि प्रणालीसँग जोडिएका कृषकले सुरु गरेका व्यावसायिक खेतीका कारण उत्पादन बढेको हो ।’