अत्तरिया – कैलालीको लम्किमा रहेको जडीबुटी प्रशोधन उद्योगको स्तरोन्नती गरिने भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–८ गप्कामा संचालनमा रहेको सगरमाथा जडीबुटी प्रशोधन उद्योगको स्तरोन्नती गरिन लागेको हो । बिभिन्न प्रकारका जडीबुटी प्रसोधन गरिदैं आएको उद्योगमा नयाँ बोईलर जडान गरी उद्योगमा पहिले भन्दा सहज र बढी उत्पादन लिने सकेने प्रबिधि प्रयोग गरिन लागेको उद्योगका संचालन जय लाल कोईरालाले बताए ।
‘यसअघि २ सय लिटरको बोईलर जडान गरिएको थियो । जसले गर्दा जडीबुटी प्रशोधन गर्दा तेल पनि कम पर्ने र प्रशोधनमा पनि लामो समय लाग्ने गरेको थियो ।’ संचालक कोईरालाले भने –‘नयाँ बोईलर १ हजार लिटर क्षमताको जडान गर्दै छौ । जसबाट तेलको उत्पादन पनि बढी हुने र प्रशोधन गर्न पनि सहज हुने छ ।’ उनले १ हजार लिटर क्षमताको बोईलर भारतबाट ल्याईसकिएको र जडान गर्न काम भईरहेको बताए । उनका अनुसार नयाँ प्रबिधिको बोईलर जडान गर्न ५५ लाख खर्च हुने छ ।

डेढ बर्ष अगाडी ४ जनाको ४ करोडको लगानिमा स्थापना भएको यस उद्योग मार्फत सुदूरपश्चिममा उत्पादन हुने जडिबुटी खरिद बिक्री गर्नुका साथै बिभिन्न प्रकारका सुगन्धित जडीबुटी प्रशोधन पनि गरिदैं आएको छ । उद्योग स्थापनाका लागि तत्कालिन जिल्ला वन कार्यालय कैलालीले ५५ लाख आर्थिक सहयोग गरेको थियो । प्रशोधन उद्योगमा क्यामोमाईल, मेन्था, लेमनग्रास, सिट्रोनेला, कडिपत्ता प्रशोधन गरी तेल उत्पादन गरिदैं आएको छ ।

५ सय बिगामा जडीबुटी खेती
उद्योगले अहिले लम्कीचुहामा रहेका बिभिन्न सामुदायीक वनमा करिब ५ सय बिगामा जडीबुटी खेती समेत गरेको छ । सामुदायीक वनहरु संगको सहकार्यमा ५ सय बिगा क्षेत्रफलमा सिट्रोनेला, लेमनग्रास, अमला, रिठ्ठा, बेल, सतिसाल र बिजयसाल लगायतका जडीबुटी खेती गरिएको संचालक कोईरालाले बताए । उनले बिरेन्द्र सामुदायीक वन र महिला जागरण सामुदायीक वनमा सिट्रोनेला २ सय बिगाहा, लेमनग्रास १ सय ५० बिगाहा र अन्य जडीबुटी करीब १ सय ५० बिगाहामा खेती गरिएको बताए ।