कञ्चनपुर - सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादनमा अभिवृद्धि गर्न मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम अन्तर्गत नमूना कृषि गाउँ स्थापनाका लागि कैलाली र कञ्चनपुरमा १५ ओटा स्थानीय तह छनोट गरिएको छ ।
प्रत्येक स्थानीय तहमा बालीको छनोट गरी रू. ५० लाखका दरले बजेटको व्यवस्था मिलाइएको छ । कृषिउपजको आन्तरिक माग पूर्ति गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।
कृषि पूर्वाधार, बीउबिजन, सिँचाइ, ढुवानी, कृषिउपज संकलन केन्द्र र बजार प्रवद्र्धन लगायत कार्य गरिनेछ । यस्तै किसानको क्षमता विकास, एकीकृत घुम्ती प्रयोगशाला सेवा, उत्पादन सामग्री सहयोग, कृषि यन्त्रीकरणमा सहयोग, प्रशोधन तथा बजारीकरण पूर्वाधारमा सहयोग, साना सिँचाइ निर्माण तथा मर्मतसम्भार र बजारीकरणमा सहयोग गरिने भएको छ ।
नमूना कृषि गाउँका लागि १०० घरधुरी समेटिएको हुनुपर्ने प्रावधान राखिएको छ । कार्यक्रम अन्तर्गत न्यूनतम क्षेत्रफल खाद्यान्न बालीका लागि ५०, तरकारी बालीका लागि ३०, फलपूmल बालीका लागि ३०, च्याउखेतीका लागि ५० टनेल र तेलहन दलहन बालीका लागि ४० बिगाहा निर्धारण गरिएको छ । रासस