बाजुरा - जिल्लाको बुढीगंगा नगरपालीकामा रहेको भानोदय मा.वि टाँटेमा महिनावारी भएको छात्राहरुलाई सेनेटरी प्याड वितरण गरे पछी विद्यालयमा महिनावारी भएको छात्राहरु नियमित विद्यालयमा आउन थालेका छन् । महिलाका लागि किशोरावस्थामा हुने परिवर्तन मध्ये महिनावारी पनि एक हो ।
महिनावारीलाई प्रजनन् क्षमता विकासको संकेत र किशोरावस्थाको परिर्वतनका रुपमा लिएपनि बाजुरा जिल्लामा यो महिनावारी हुने प्रचलन सबैका लागि सहज अवस्था रहेको छैन । विद्यालय उमेरका छात्राहरुका लागि निकै जटिल हुने गर्दछ । नियमित सरसफाइ, गाउँमा रहेको पुरानो चलन अनुसारको रहनसहन, शारिरीक रुपमा हुने समस्याले थप पीडा सहनु पर्ने बाध्यता छात्राहरुसँग छ ।
जसका कारण उनिहरुले नियमित विद्यालय जानसमेत सक्दैन भने पठनपाठन कार्यसमेत प्रभावित हुने गरेको देखिन्छ । महिनावारी भएको समयमा रगत बग्ने, पेट दुख्नेजस्ता समस्याले नियमित विद्यालय नगएरै घर बस्ने गर्दा प्रत्येक महिनाको ५ दिन बढी समय पढाईबाट वञ्चित हुनुपर्ने समस्या रहेको भानोदय माविका छात्रा सुशिला धामीले बताइन् । पिसविन बाजुरा र सामुदायिक विकास परियोजनाको सयोगमा छात्राहरुलाई विद्यालयमा सेनेटरी प्याड वितरण गरे पछी छात्राहरुले महिनावारी भएको समयमा पनि विद्यार्थीहरु नियमित विद्यालयमा आउने गरेको भानोदय माविका शिक्षक लक्ष्मी राज जोशीले जानकारी दिए ।
'महिनाबारी भएको सुरुको एक दुई दिन अधिकांश छात्रा विद्यालयमा आउदैन थिए' शिक्षक जोशीले भने -'अहिले भने विद्यालयमा छात्रामैत्री शौचालयकको निर्माण र प्याडको प्रयोग बढेपछि त्यो समस्या हटेको र छात्राहरु नियमित रुपमा बिधालय आउने गरेका छन् ।'
सामुदायिक विद्यालयको हकमा विद्यालयमा अलग शौचालय नहुने, दुखाई हुँदा आवश्यक हेरचाह र आरामका लागि विद्यालयले वास्ता नगर्ने र रगत बग्दा त्यसको उचित व्यवस्थापन नगर्दा महिनावारी भएका छात्राहरुलाई जिसकाउने गिजेउने लगाएत कामहरु पहिले हुने गरेपनि अहिले भने हटेको कक्षा १० मा अध्यनरत विद्यार्थी उर्मिला धामीले बताइन् ।
;प्याड प्रयोग नगर्दा शरिरि भरि गन्ध फलने, बेञ्चमा समेत रगत देखिने समस्याकै कारण चाहेर पनि छात्राहरु विद्यालय आउँदैन थिए' उनले भनिन् -' त्यति बेला उपस्थिति दर पनि निकै कम हुन्थ्यो जब सेनेटरी प्याडको सहयोग भयो र छात्राहरुले आफै निर्माण गर्न थाले, उनीहरुलाई मात्र सहज भएन, विद्यालयकै नियमित उपस्थित हुने दर र शैक्षिक गुणस्तरमा सुधार भयो ।'
यस अघि ६ कक्षा माथि पढ्ने अधिकांश छात्रा विद्यालय नआउदा ४० प्रतिशत हाजिरी समेत नहुने गरेका अबस्थामा अहिले भने शत प्रतिशत रहने गरेको भानोदय माविका शिक्षिका सृजना जोशीले बताए । पीसविनले १३ सय थान प्याड सहयोग गरेको छ भने छात्रामैत्री शौचालय, प्याड व्यवस्थापन गर्ने डम्पीग साइड पनि बनाइएको शिक्षिका जोशीले बताए । यस्तै छात्राहरुलाई प्याड निर्माणको तालिम पनि दिइएको छ ।
बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका १० वटा मावि र निमाविमा प्याड सहयोग गरिएको पीसविन सामुदायिक विकास परियोजना अधिकृत टेकबहादुर थापाले बताए । प्रत्येक विद्यालयमा ८ सयका दरले प्याड वितरण गरिएको छ। भने कक्षा ९ र १० का छात्राहरुलाई आफै निर्माण गर्ने तालिम पनि दिइएको छ ।