काठमाडौँ – संसदको अर्थ समितिले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सातै प्रदेशमा पुगेर सुझाव संकलन गर्ने भएको छ ।
अघिल्ला वर्षहरुमा समितिले काठमाडौँमै बसेर पूर्व बजेटबारे छलफल चलाए पनि यस वर्ष दुई टोली बनाएर सुझाव संकलनका लागि अर्थ समितिका सदस्यहरु देश दौडाहामा निस्कन लागेका हुन् ।
प्रदेश सरकार, प्रदेश अर्थ समिति, स्थानीय तहका प्रतिनिधिसँग सातै प्रदेशमा छलफल गर्ने र त्यहाँबाट आएका विषयलाई सुझावका रुपमा सरकारलाई दिने निर्णय गरेको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।
सुझाव संकलनका लागि १२/१२ जना सांसदको टोली वैशाखको पहिलो हप्ता काठमाडौँबाट पूर्व र पश्चिम हिड्नेछन् । टोलीले सात दिनभित्र सुझाव संकलन गरेर प्रतिवेदन समितिमा पेश गर्नेछन् ।
समितिका सभापति दाहालका अनुसार प्रदेश नम्बर १, २ र ३ मा सुझाव संकलनका लागि पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गण्डकी, ५ नम्बर, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सुझाव संकलन गर्न पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको संयोजकत्वमा सांसदहरु जानेछन् ।
पूर्वी क्षेत्रमा जाने टोलीमा संयोजक कार्कीसँगै जुलीकुमारी महतो, प्रमिला राई मेटमणि चौधरी, मोतीलाल दुगड, रामबाबुकुमार यादव र सरवत आरा खानमलगायत छन् ।
त्यस्तै पश्चिम क्षेत्र जाने टोलीमा पाण्डेसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, घनश्याम भुसाल, हरिराज अधिकारी, रामकुमारी झाँक्री, जयकुमार राई, तुलसी थापालगायत रहेको दाहालले जानकारी दिए ।
संविधानअनुसार जेठ १५ गते संघीय संसदको दुवै सदनमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् । अर्थमन्त्रालयले बजेट निर्माण सुरु गरिसकेको छ ।