महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राजनीतिक नेतृत्व र प्रशासनिक निकाय नैतिक र इमान्दार भए भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताएका छन । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले भ्रष्टाचार रोक्नको लागि सबैले ईमान्दार बन्न जरुरी रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले भने – ‘भ्रष्टाचार गर्नु हुन्न र गर्न दिनु हुन्न भनेर सबैले भ्रष्टाचारको बिरोध गर्छन् फेरि पनि भ्रष्टाचार भइरहेको छ, त्यसैले बोलीमा होइन व्यवहारमै यसको रोकथाम गरौ ।’ उनले भ्रष्टाचार अख्तियारको पहल कदमी र सक्रियतामा मात्रै रोक्न नसकिने भएकाले यसको लागि सबैले इमान्दार बन्न जरुरी रहेको बताए । उनले भने – ‘सार्वजनिक पदमा बसेका व्यक्तिले जबसम्म आफ्नो वास्तविक सम्पति भन्न समेत आनाकानी गर्छन भने त्यहाँ भ्रष्टाचार को गन्ध आउँछ ।’
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर प्रमुख बाबुराम खतिवडाले भ्रष्टाचार शक्ति र अधिकार भएको व्यक्तिले गर्ने गरेको बताए । कार्यक्रमका सहभागीहरुले सर्वव्यापी रुपमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न सुन्य सहनशीलताको नीति अबलम्बन गर्नुपर्नेमा जोड दिएका थिए ।
अन्त्ररक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य मान बहादुर सुनार, नागरिक निगरानी समाजका अध्यक्ष डा. टेकराज पन्त, प्रमुख जिल्ला अधिकारी सुसिल कुमार वैद्य, स्थानिय निकायका जनप्रनिनिधि, नगर तथा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता रहेको थियो ।
‘भ्रष्टाचार बिरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य’ भन्ने नाराका साथ आज नेपालमा पनि बिभिन्न कार्यक्रम गरी विश्व भष्ट्राचार बिरुद्धको दिवस मनाईदै छ ।