काठमाडौँ – एक तिहाइ राष्ट्रियसभा सदस्यको चुनाव आउँदो माघ ७ गते गर्ने तयारी गरिएको छख। संघीय संसदले ५९ मध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने भएकाले चुनाव गरिदिन निर्वाचन आयोगलाई पत्र पठाएखसँगै आयोगले माघ ७ गते चुनाव गर्ने तयारी अघि बढाएको छख।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ मा कार्यकाल सकिनु भन्दा कम्तीमा ३५ दिनअघि चुनाव गर्नुपर्ने व्यवस्था छ । त्यस अनुसार माघ १५ गतेभित्र चुनाव गरिसक्नु पर्ने बाध्यताका कारण आयोगले एक हप्ता अघि माघ ७ गते चुनावको मिति राजनीतिक दल र सरकार समक्ष प्रस्ताव गर्ने तयारी गरेको हो ।
राष्ट्रियसभा सदस्यको चुनावबारे आयोगले सोमबार राजनीतिक दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएको छ ।
चुनावको मिति सरकारले घोषणा गर्ने कानुनी व्यवस्था भए पनि आयोगको परामर्शमै मन्त्रिपरिषदले मिति तय गर्ने गर्दछ ।
तयारीबारे जानकारी दिँदै प्रमुख आयुक्त दिनेश थपलियाले दलहरु सँगको छलफलपछि आयोगले सरकार समक्ष मिति तोक्न सुझाव दिने जानकारी दिए ।
उनले भने, ‘चुनावबारे छलफल गर्न सोमबार हामीले राजनीतिक दलहरुलाई बोलाएका छौं । उहाँहरु समक्ष हामीले माघ ७ देखि १० गते भित्रको समय उपयुक्त हुने प्रस्ताव गर्छौ ।’ राष्ट्रियसभा सदस्यको चुनावबारे आयोगले आइतबार कानुन विद्हरु सँग पनि छलफल गरेको छ ।
संघीय संसदको बैठक सुरु भएको दुई वर्ष पूरा भएसँगै फागुन २० गते निर्वाचित १८ र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिँदैछ ।
राष्ट्रपतिबाट मनोनित तीन जनामध्ये अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल फागुन २० गतेसम्म रहेको छ । गोलाप्रथाबाट मनोनित रानारायण बिडारीको चार वर्ष र विमला पौड्यलको ६ वर्ष कायम भएको थियो ।