संगीता धामीले कक्षा १० मा पढ्दाको कुरा हो, विद्यालय स्तरीय कुस्ती प्रतियोगिताका लागि प्रशिक्षकहरूले विद्यालय विद्यालयमा गएर विद्यार्थीलाई भाग लिन प्रस्ताव गरेको उनले थाहा पाइन् । उनी आफैं गएर प्रशिक्षकहरूलाई भनिन– म खेल्छु । लक्ष्मी खत्री र राजेन्द्र चन्द प्रशिक्षक थिए । उनीहरूले धामीलाई छनौट गरे । त्यहीँबाट सुरू भयो संगीताको कुस्ती यात्रा । उनले शनिबार जनकपुरधाममा भएको साउथ एसियन गेम (साग) मा कुस्ती खेलमा ५५ किलो ग्राम तौल समूहमा नेपालकी संगीता धामीले नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भइन् ।
संगीताले बंगलादेशकी रिमी सरकारलाई ५–१ ले पराजित गर्दै नेपाललाई कुस्तीमा पहिलो पटक ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भएकी हुन् । नेपालका लागि ऐतिहासिक स्वर्ण जितेपछि संगीताले आँशु थाम्न सकिनन् । जितको खुसीले उनी रून थालेपछि प्रशिक्षक र सहयोगीले सम्हाले । सङ्गीता रोएपछि कवर्डहलमा उपस्थित दर्शक समेत भावुक बनेका थिए ।
तर संगीतालागि सागमा छनौट भएर स्वर्णपदक विजेता बन्नु सानो कुरा होइन । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ३ नौलाखेत तिलकपुर घर भएकी १९ वर्षीया धामी अध्ययन र खेलको जिम्मेवारी सँगसँगै पूरा गरिरहेकी छन् । उनी अहिले बिएड पढिरहेकी छन् । संगीतालाई स्कुल पढ्दै देखि खेल्न मन पथ्र्याे । त्यसैले स्कुलका शिक्षकहरू कुनै खेल खेलाउन प¥यो भने उनैलाई रोज्थे । सामान्य परिवारमा जन्मेकी संगीता सहित उनको अन्य तीन दिदी बहिनीको लालनपालन आमाले नै गर्दै आएकी छिन् ।
‘बहिनी सानै छँदा बुवा आमालाई छोडेर अन्तै जानुभयो, त्यसयता आमा नै हाम्रो लागि सबैथोक हो । आमाले भैंसी पाल्नुभएको छ । दूध बेचेर हाम्रो शिक्षा दिक्षा पूरा गर्नुहुन्छ,’ संगीताले भनिन,’मैले आज जितेको स्वर्ण मेरी आमालाई हो ।’
३ जना छोरीमात्रै भएको भन्दै बुवाले संगीताकी आमालाई छोडेका थिए । दूध बेचेरै घरपरिवार चल्दै आएको छ । संगीताले आमालाई सहयोग गर्न घर–घरमा दूध पु¥याउन जान्थिन् । त्यसैले कहिलेकाँही कलेज जान अबेर हुन्थ्यो ।
‘दूध बेचेर कलेज पढ्न जाँदा साथीहरु दूधवाली भनेर जिस्क्याउँथे, एकदमै नराम्रो लाग्थ्यो,’ संगीताले भावुक हुँदै भनिन् । अहिलेसम्म अन्तराष्ट्रियस्तरको १, राष्ट्रिय स्तरको २ र घरेलुस्तरको ३ गरी जम्मा ६ वटा स्वर्ण पदक जितिसकेकी संगीताको कुस्तीमा राम्रो खेलाडी बनेर भविष्य उज्जवल बनाउने सोच छ ।
उनी भन्छिन् ‘खेलमै टिकिराख्न मिहिनेत गर्दै छु, सकेसम्म यसैलाई भविष्यको पेसा बनाउँछु,’ उनले एकैछिन सोचेर फेरि भनिन,’यसलाई मुख्य पेसा बनाउन नसके अन्तै जागिर गरेर भए पनि आमा र बहिनीको सहारा बन्नेछु ।’