धनगढी – पछिल्लो समय पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको धनगढीको देवरिया वनस्पति उद्यान सुदूरश्चिम क्षेत्रमा पाईने जडिबुटी संरक्षणका लागि पनि उतिकै महत्तपुर्ण स्थान हो । वनस्पति अनुसन्धान केन्द्र कैलालीको अनुसन्धान केन्द्र समेत रहेको यस उद्यानमा सुदूरपश्चिमा पाईने बिभिन्न जडीबुटी संगै लोपोन्मुख बिरुवा समेत संरक्षण गरिएका राखिएको छ ।
जडिबुटी तथा सुगन्धित वनस्पतिको वैज्ञानिक अनुसन्धान, संरक्षण, प्रदर्शन, विक्री वितरण तथा जनचेतना जगाउने उद्देश्यले वि.सं २०५६ सालमा स्थापित देवरिया वनस्पति उद्यान धनगढी उपमहानगरपालिका ८ मा रहेको सुदूरपश्चिमाञ्चल प्रदेशको एक मात्र राष्ट्र्यि उद्यान हो । धनगढीको मुख्य बजार देखि ५ किलोमीटर दुरीमा रहेको यो उद्योन करिब १०० हेक्टरमा फैलिएको छ । देवरिया वनस्पति उद्यानमा उष्णिय साल−अस्नाको सम्मिश्रित वन, ११६ प्रजातिका महत्वपूर्ण वनस्पतिहरु रहेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख लक्ष्मण झाले बताए ।
उनले वन तथा जडीबुटीको अध्ययन गर्नेका लागि पनि यो उद्यान पाठशाला नै भएको बताए । देवरिया वनस्पति उद्यानमा जडिबुटी संरक्षण तथा उत्पादनका लागि वंशाणुश्रोत संरक्षण स्थल, प्रदर्शनी प्लट, विक्रि वितरणका लागि वेर्ना उत्पादन स्थल र ग्रीन हाउसहरुका साथै ५०० के.जी क्षमता भएको जडिबुटी प्रशोधन गर्ने डिस्टिलेसन युनिट पनि रहेको प्रमुख झाले बताए ।
यस उद्यानमा अहिले दैनिक रुपमा १००–१५० सम्म मानिसहरु यस उद्यानमा घुम्न, रमाउन तथा पिकनिकका लागि आउने गरेका छन । यसको सही व्यवस्थापन, प्रचार–प्रसार, अध्ययन–अनुसन्धान र संरक्षण भएमा सुदूरपश्चिमाञ्चलको एक महत्तपुर्ण पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने वनस्पति अनुसन्धान केन्द्रका प्रमुख झाले बताए ।