काठमाडौं – त्रिविका विद्यार्थीले एक लाखसम्म उपचार खर्च पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा एक लाखसम्म गर्ने भएको हो । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।
यसअघि त्रिविले प्रतिविद्यार्थी ५० हजारसम्मको खर्च गर्ने गरेको थियो । त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट उक्त सुविधा दिनेछ । ती अस्पताल सँग त्रिविले उपचार खर्चका लागि एक लाखसम्म खर्च गर्ने गरी सम्झौता गरेको छ । देशभरि आङ्गिक क्याम्पसमा अध्ययन गरेका विद्यार्थीले उक्त सुविधा पाउने छन् ।
सम्झौता अनुसार ती अस्पतालले प्रयोगशाला परीक्षण, शैया शुल्कमा प्रति विद्यार्थीलाई एक लाखसम्म उपचार खर्च व्यहोर्ने गरेका छन् । उनले यसै आर्थिक वर्षमा अन्य क्याम्पस र अस्पताल सँग सम्झौता गर्ने तयारी गरिरहेको जानकारी दिए । त्रिवि सभा सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रवहादुर शाहीले क्याम्पसको सिफारिसमा गएका विद्यार्थीले उक्त सुविधा पाउने बताए । उनले आफूहरुले उपचार खर्च पूर्ण निःशुल्क गराउन माग गरेको बताए । उनका अनुसार क्याम्पसले विद्यार्थीबाट उपचार खर्च भनेर प्रतिविद्यार्थी ५०० शुल्क लिँदै आएको छ । त्रिविले आव २०७३/७४ देखि विद्यार्थीका स्वास्थ्य उपचार कोष खडा गरेर विद्यार्थीलाई उपचारमा सहयोग गर्दै आइरहेको छ ।
अब सम्बन्धन प्राप्त क्याम्पसले पनि छात्रवृत्ति दिनुपर्ने
यस्तै अब देखि त्रिविसँग सम्बन्धन लिएका क्याम्पसले पनि १० प्रतिशत पूर्ण निःशुल्क छात्रवृत्ति दिनुपर्ने भएको छ । त्रिवि सभाले सम्बन्धन लिएका क्याम्पसले पनि छात्रवृत्ति दिनुपर्ने निर्णय गरेको रजिष्ट्रार उप्रेतीले जानकारी दिए ।
त्रिविमा करीब ६२ आङ्गिक र एक हजार सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । यसअघि त्रिविका आङ्गिक क्याम्पसलाई मात्र छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो । यसैगरी त्रिविले छात्रवृत्तिका लागि रु तीन करोड ७१ लाख ४६ हजार छुट्याएको छ । रासस