अत्तरिया – धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी २२ गतेदेखि सञ्चालन हुने महोत्सवलाई भव्यताका साथ सञ्चालन गर्नको लागि तयारी तिव्र पारिएको हो । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा १४ वर्ष देखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुदै आएको छ ।
संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको ८० प्रतिशत तयारी पुरा भएको जानकारी दिएका छन । उनले सुदूरपश्चिम औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेला (सुदूरपश्चिम महोत्सव २०७६) को तयारी तीब्र बनाइएको बताए । उनले महोत्वसको लागि गेट निर्माण, स्टल निर्माणको काम तिव्र गतिमा भईरहेको बताए ।

“समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि आदि तथा बाल उद्यान सहित तीन सय बढि स्टल रहने छन ।
महोत्सवमा ६३ लाख ९० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । अध्यक्ष कुँवरले यसवर्ष महोत्सवको आन्तरिक सजावट र मञ्च व्यवस्थापन समेत परिवर्तन गरिएको बताए ।