धनगढी — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालापानीबाट भारतीय सेना हटाउनुपर्ने धारणा व्यक्त गरेका छन् । कालापानी मार्चपछि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपालको अस्थिर राजनीतिको फाइदा उठाउँदै भारत सरकारले कालापानीबाट आफ्नो सेना नहटाएको केसीले बताए ।
‘दुई तिहाईको बलियो सरकारले अब कालापानीबाट भारतीय सेना हटाउने क्षमता राख्नैपर्छ,’ उनले भने, ‘यो मामिलालाई कुटनीतिक पहलबाट टुंग्याउन नसके अन्तर्रा्ष्ट्रियकरण गरेर भएपनि कालापानीबाट भारतीय सेना हटाउनै पर्छ ।’
चीन र भारतको युद्ध चलेको बेला बसेको भारतीय सेनालाई तत्कालिन राजा महेन्द्रले पनि जनताको दुई तिहाई सरकार उल्टाएर सत्तामा लिँदा भारतको समर्थन र सहयोगको अपेक्षा गरी कालापानीबाट भारतीय सेना हटाउन नसकेको उनले बताए । त्यसपछि पञ्चायतमा पञ्चेले र त्यसपछि नेपालका राजनीतिक दलले सत्ता र शक्तिमा बस्न भारतको सहयोग र आर्शिवाद माग्ने प्रवृतिका कारण कालापानीबाट भारतीयसेना हटाउने विषयमा कुटनीतिकपहल नै हुन नसकेको उनले सुनाए ।
‘तर अहिलेको दुई तिहाईको बलियो सरकारलाई कालापानीबाट भारतीयसेना हटाउन पहल गर्नैपर्छ,’ केसीले भने, ‘नेकपाका लागि यो मामिला जीवन मरणको भएर आएको छ ।’ तर उनले नेपाल सरकारले दृढतापूर्वक कुटनीतिकपहल गर्न नसकेको बताए ।
‘भारतले नेपालको संविधान मन नपरेको विषयलाई अन्तराष्ट्रियकरण गर्न सक्छ,’ उनले भने, ‘नेपालले यो विषयलाई अन्तराष्ट्रियकरण गर्न डर, भय, मनमा त्रास मान्नुको कुनै कारण पक्कै छ ।’ उनले भारत यो मामिलाई कुटनीतिक पहलबाट सजिलै मान्लाजस्तो आफूलाई नलाग्ने बताए । ‘१९५० को सन्धिलाई पुनरावेदन गर्ने प्रतिवेदनलाई त भारतका प्रधानमन्त्रीले बुझ्न समेत मानेका छैन्न ।,’ उनले भने ।
अध्यक्ष केसीले कालापानीबाट भारतीयसेना हटाउन नेपाली जनताले सरकारलाई दबाब र खबरदारी गरिराख्नुपर्ने बताए । दबाब र खबरदारी गर्ने क्रममा आफनो पार्टीले कालापानी मार्च गरेको बताए। कञ्चनपुरदेखि दार्चुला कालापानी मार्चको क्रममा १२ स्थानमा कोणसभा गरेको जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्रीले जानकारी दिए ।