कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीका ज्ञानेन्द्र बोहरा दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान्छन् । बस्तीमा रहेको विद्यालय माविस्तरको नहुँदा उनी जस्तै त्यहाँका अन्य विद्यार्थी पनि दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान बाध्य छन् । भौगोलिक रुपले विकट मानिएको खल्ला मसेटीमा सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा त्यहाँका विद्यार्थीले दैनिक छ किलोमिटर हिँडेर विद्यालय जानुपरेको बोहराले बताए । कक्षा ९ मा अध्ययनरत ज्ञानेन्द्र बोहराले भने,आफूहरु चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भएपनि अध्ययनका लागि दैनिक छ किलोमिटर हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि जाने गर्छै ।
जङ्गलको बाटो, माथि भीर तल महाकाली हिँड्नै गाह्रो हुन्छ, उनीले दुखेसो पोख्दै भने, खल्ला मसेटी गाउँमा यो पालि देखि कक्षा ८ सम्मको अध्ययन हुँदैछ । बोहराले विगतमा माविस्तरको अध्ययन गाउँमा नहुँदा धेरै विद्यार्थीले स्कूल छाडेको बताए ।
गाउँ पूरै आर्थिकरुपले विपन्नले भरिएको छ, उनले भने,सडक सञ्जाल विस्तारको क्रममा रहे पनि गाउँमा बिजुली,खानेपानी, शिक्षा,स्वास्थ्य लगायतका पूर्वाधार पुग्न सकेका छैनन् । त्यसैगरी विद्यालयबाट घर फर्किरहेको अवस्थामा बाटोमा भेटिएकी विद्यार्थी सङ्गीता चन्दले अध्ययनका लागि निकै सास्ती खेप्नु परिरहेको बताइन् ।
जङ्गल छेउको बाटो भएकाले गाउँका विद्यार्थी जम्मा भएर स्कूल जान्छौँ, चन्दले भने,छात्रालाई एक्लै आउन जानसमेत समस्या छ । वर्षात्का बेला घरबाट स्कूल जान हिँडेका खल्ला मसेटीका विद्यार्थी ब्रह्मदेव आउँदाबीचमा पर्ने भिमेरीगाड खोलाको बाढीले घर फर्किनुपर्ने अवस्था आउने गरेको विद्यार्थी बोहराले बताए ।
गाउँमा बिजुली नहुँदा घरमा अध्ययन गर्न पनि समस्या हुन्छ, विद्यार्थी दीपा चन्दले भने, खल्ला मसेटीबाट मात्रै ६० भन्दा बढी विद्यार्थी हिँडेर ब्रह्मदेव आउँछन् । विगत तीन वर्षदेखि ब्रह्मदेव अध्ययनका लागि आइरहेकी चन्दले सडक र यातायात सुविधा नहुँदा विद्यार्थी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको बताए ।
गाउँमा रहेको भीमदत्त स्मृद्धि आधारभूत विद्यालय स्तरोन्नति हुनसके हामीले यतिधेरै दुखः गर्नुपर्ने थिएन,चन्दले भने, हामीलाई सिंहदरबार होइन, गाउँमै स्कूल चाहिएको छ ।चन्दले भने, गाउँमा मावि तहसम्मको विद्यालय छैन, अटो तथा सार्वजनिक भाडाका साधन पनि गाउँमा चल्दैनन् तर पनि पढ्नकै लागि गाउँबाट ६ किलोमिटर हिँडेर ब्रह्मदेव आउनैपर्ने बाध्यता छ । भीमदत्तनगरपालिका–९ का वडाध्यक्ष राम नाथले खल्लाम सेटीमा रहेको विद्यालय स्तरोन्नतिका लागि स्थानीय तह पहल गरिरहेको बताए ।
स्कूलमा विद्यार्थीको सङ्ख्या बढ्दै गए माविसम्म बनाउने भन्ने भएको छ,वडाध्यक्ष नाथले भने,सडक पूर्वाधार विकास र यातायातको पहुँच पुर्याउन पहल हुँदैछन् । उनले खल्लासम्म कच्ची सडक विस्तार गरिसकेको बताउँदै थप सडक विस्तारका लागि नगरपालिकाबाट डोजर ल्याएर केही दिनभित्रै शुरु गर्ने बताए
खल्ला मसेटी र टिडीखेल गरेर सो क्षेत्रमा २७० परिवारको बसोबास रहेको नाथको भनाइ छ । स्थानीय जनप्रतिनिधि आइसकेपछि सो क्षेत्रको विकासको ढोका खुलेजस्तै भएको छ,उनले भने,खल्ला मसेटी क्षेत्र नगरकै पिछडिएको ठाउँ हो । आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबास रहेको खल्ला मसेटीका स्थानीय महाकाली नदीको बगरमा बालुवा–गिट्टी छान्नुका साथै अधिकांश पुरुष भारतमा मजदूरी गरेर जीविकोपार्जन गर्छन् । वडाध्यक्ष नाथले महाकाली करिडोरको काम शुरु भए खल्ला मसेटी सडक सञ्जालसित जोडिनेमा आशावादी रहेको बताए ।