डडेल्धुरा-डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा लोकराज भट्ट निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न भएको मतगणना अनुसार भट्टले ५ सय १० मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्धन्दी भोजराज भट्टले ४ सय ९९ मत प्राप्त गरे।
अध्यक्षमा लोकराजसँग भोजराज ११ मतले पराजित भएका हुन्। अध्यक्षमा पराजित भोजराज भट्टले १ सय मत भएको मतपेटिकामा ६ मत बढी खसेको भन्दै चुनावमा धाँदली गरेको आरोप लगाएका छन्।
सुरुदेखि नै भोजराज भट्टले अग्रता लिएपनि अन्तिम पेटिकामा भएका ६८ मतमध्ये लोकराज भट्टको पक्षमा ४७ मत खसेपछि उनी विजयी भएका निर्वाचन अधिकृत हरिप्रसाद भट्टले जानकारी दिए। अन्तिम पेटिकाबाट भोजराज भट्टले २१ मत मात्रै प्राप्त गरेका थिए।
सचिवमा वासुदेव जोशी निर्वाचित भएका छन्। उनले ४ सय ९५ मत प्राप्त प्राप्त गरे। उनका प्रतिद्धन्दी विष्णुराज जोशीले भने ४ सय ८३ मत प्राप्त गरेको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।
यसअघि संघको प्रथम उपाध्यक्षमा द्धिजराज भट्ट, द्धितिय उपाध्यक्षमा दिपक महता, महाचिवमा खेमराज अवस्थी र कोषाध्यक्षमा लालमणि पन्त निर्विरोध निर्वाचित भएका थिए।
सदस्यहरुमा बसन्तराज चटौत, लालबहादुर मडौं, दीपेन्द्र रुपाली, मनोजकुमार पाठक, दिनेश पनेरु, दीपेन्द्र सिंह, लक्ष्मीकुमार ऐर, महेश कठायत, हरिप्रसाद उप्रेती र गणेशबहादुर ऐर निर्वाचित भएका छन्।
शनिबार बिहान ९ बजेबाट सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको थियो। मतगणना राति ११ बजेबाट सुरु भएको थियो। वाणिज्य संघको अध्यक्ष, सचिव र १० जना सदस्यका लागि निर्वाचन भएको थियो। संघको कुल १ हजार २ सय ९८ सदस्य रहेकोमा निर्वाचनमा कुल १ हजार ४९ मत खसेका मुख्य निर्वाचन अधिकृत भट्ट जानकारी दिए।