चिसापानी - नेपाल पर्यटन भ्रमण वर्ष २०२० र कैलाली भ्रमण वर्षलाई लक्षित गर्दै कर्णाली नदीमा शनिवार देखी बृहत जलयात्रा र्याफ्टिङ सुरु भएको छ । ‘कर्णाली र्याफ्टिङ जेम्बोरी २०१९’ नाम दिइएको उक्त जलयात्राको शनिवार एक भब्य समारोहका बिच सुदुरपश्चि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले कर्णलीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यस कार्यक्रमले महत्बपुर्ण भुमिका खेल्ने बताए । उनले विश्वमै चिनिने नदी कर्णालीमा बिभिन्न खालका संरचनाहरु निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन प्रदेश सरकार योजनाका साथ अघि बढिरहेको बताए ।
‘कर्णाली पर्यटन र उर्जाको हिसाबले निकै सम्भावना बोकेको क्षेत्र छ ’ उनले भने – ‘यस्तो सम्भावना बोकेको क्षेत्रमा शिक्षा , स्वास्थ्य , खानेपानी , यातायत र पर्यटनको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको छ ।’ यसका लागि एक्लै प्रदेश सरकारले मात्रै गरेर नहुने भन्दै मुख्यमन्त्री भट्टले कर्णाली क्षेत्रको समग्र विकासलाई अघि बढाउन केन्द्र सरकार , स्थानिय सरकार , प्रदेश बासी , सम्पूर्ण राजनैतिक दलका नेता तथा कार्यकताहरु सबैले एकजुट भएर लाग्नु पर्ने बताए ।
हाम्रो देश नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएपनि भएका सम्पदाहरुको सहि तरिकाले खोजी निति र सदुपयोग नहुदा देशको विकास हुन नसकेको बताए । उनले कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन अब निरन्तर रुपमा र्याफ्टिङ संञ्चालन गर्न जरुरी रहेको बताए । यसका लागि आफुले कर्णाली प्रदेश र ५ नं प्र्देश सरकारसंग पनि कुरा गर्ने उनको भनाई छ ।
मोहन्याल गाउँपालिकाको आयोजना तथा जिल्ला समन्वय समितीको समन्वयमा सुरु भएको बृहत जलयात्रा पहिलो दिन शनिवार ५५ बोटमा झण्डै ५०० जनाले एकै साथ यात्रा गरेका छन् । कर्णालीमा १११ वटा र्याफ्टिङबाट १ हजार एकसय दश जनालाई जलयात्रामा सहभागी गराइ विश्व कीर्तिमान कायम राख्ने लक्ष्य रहेको जिल्ला समन्वय समिति कैलालीका सभापति सूर्यबहादुर थापाले बताए ।
ब्यबस्थापनमा फितलो
निकै तामझामका साथ सुरु गरिएको ‘कर्णाली र्याफ्टिङ जेम्बोरी २०१९’ कार्यक्रम भने निकै फितलो रहेको थियो । पुर्व तयारी नहुनु र ब्यबस्थापनमा कमजोरी भएका कारण कार्यक्रम फितलो बनेको हो ।
सुदूरपश्चिम सहित कर्णाली प्रदेश र प्रदेश ५ का मुख्यमन्त्रीहरुले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहको बताएपनि सुदुरपश्चिम प्रदेश सरकारको जम्बो टोली मात्रै कार्यक्रममा सहभागी भएका थिए । उद्घाटन कार्यक्रम कर्णाली प्रदेश र प्रदेश ५ का मुख्यमन्त्री सहभागी भएनन् । यस्तै भारतका पर्यटकहरु र्याफ्टिङमा सहभागी हुने बताएपनि र्याफ्टिङ गर्दा एक जना पनि भारतीय पर्यटकहरु देखिएनन् ।
स्थानियहरुका अनुसार बजेटको खर्च र औपचारिकता निभाउनका लागि मात्रै आयोजना गरिने यस्ता कार्यक्रमले आफ्नो जिवन स्तरमा र कर्णालीको विकासमा कुनै परिर्वतन नआउने बताए । उद्घाटन कार्यक्रम संघिय सांसदहरु , सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री , सभामुख, उप सभामुख , प्रदेश सांसद ,स्थानिय निकायका जनप्रतिनिधी लगाएत सर्वसाधारणको सहभागीता रहेको थियो । करीव ३ घण्टा लाग्ने र्याफ्टिङ झण्डै २३ किमी लामो दूरीमा रहेको छ । शनिवार देखी सुरु भएको जलयात्रा २५ गते सम्म संञ्चालन हुने छ ।