उपनिर्वाचन प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभा तर्फ बागलुङ २ (ख), भक्तपुर १ (क) र दाङमा ३ (ख) मा शनिबार भएको मतदानमा भक्तपुर १ क मा मात्रै मतगणना सम्पन्न भएको छ । बाकी क्षेत्रमा मत गणना जारी रहेको छ ।
भक्तपुरमा कांग्रेसका भँडेल विजयी
भक्तपुर– भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन् । यसअघि एमाले (हालको सतारुढ नेकपा) ले विजयी हाँसिल गरेको यो क्षेत्रमा कांग्रेस विजयी बनको हो । यसअघिको यही स्थानको स्थानीय निकायको निर्वाचनमा पनि मेयर, उपमेयर सहित अधिकांश वडाअध्यक्ष पनि पूर्व एमालेबाटै विजयी भएका थिए । काँंग्रेसका भडेलले १३ हजार चार सय ४८ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपाका डीपी ढकालले ११ हजार एक सय ९७ मत पाएका छन् । तेश्रो स्थान यसअघि जस्तै नेपाल मजदुर किसान पार्टीका निरज लवजूले पाँंच हजार आठ सय २९ मत पाएका छन् ।
विद्या भट्टराईले ८ हजार ५१२ मतान्तरले अग्रता
पोखरा – कास्की(२ मा नेकपाकी विद्या भट्टराईले अग्रतालाई निरन्तरता दिइरहेकी छिन् । ताजा मतपरिणाम अनुसार उनी २०,७७१ मतका साथ अगाडि छिन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलले १२ हजार २५९ मत छ । भट्टराई र पौडेलको मतान्तर ८ हजार ५१२ रहेको छ । कास्कीमा पोखराका ३३, २१, २०, १५, १६, १७, ११ र ९ वडाको मतगणना सकिएको छ । अब ४, ७ र ८ नम्बर वडाको मत गन्न बाँकी छ ।
दाङमा मतान्तर बढाउँदै नेकपा
दाङ– दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा–२ मा नेकपाले आफ्नो अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यलाई २ हजार ६ सय ९५ मतले पछि पार्दै नेकपाकी उम्मेदवार विमला खत्री ओलीले अग्रता कायम राखेकी हुन् । ओलीले ८ हजार ८ सय ९६ मत ल्याउँदा कांग्रेका आचार्यले ६ हजार २ सय १ मत ल्याएका छन् ।
राष्ट्रिय जनमोर्चाका खिमबहादुर शाहीले अग्रता
प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ(२ (ख)मा राष्ट्रिय जनमोर्चाका खिमबहादुर शाहीले अग्रता लिएका छन् । उनले २ हजार १९७ मत ल्याएका छन् । शाहीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समर्थन छ ।
कांग्रेसका जितबहादुर शेरचनको दुई हजार ४३ मत पुगेको छ । यो परिणाम चार हजार ५१३ मत गणना हुँदा सम्मको हो ।
२०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी भएका थिए । त्यतिबेला काँग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ भोट थियो ।