काठमाडौं – बहुविवाह गर्ने निजामति कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने गरी सरकारले कानुन बनाउने प्रस्ताव गरेको छ । सरकारले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप गर्ने गरी प्रतिवेदन तयार पारेको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकको मस्यौदा प्रतिवेदन विचाराधीन छ । मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न समितिले सोमबार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीलाई आमन्त्रण गरेको छ ।
फौजदारी संहितामा अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे स्वतः बदर हुने ब्यवस्था छ । बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै सरकारले निजामति सेवासम्बन्धी विधेयकमा फौजदारी संहितामा जस्तै ब्यवस्था राख्न खोजेको छ । अर्थात, फौजदारी संहिताअनुसार अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे त्यस्तो विवाह स्वतः बदर हुने छ भने, संघीय निजामति सेवामा राख्न प्रस्तावित व्यवस्थाअनुसार त्यस्ता व्यक्ति निजामति कर्मचारी रहेछन् भने जागिर बर्खास्तीमा पर्नेछन् ।
प्रचलित कानुनमा बहुविवाह गर्नु हुँदैन भन्ने उल्लेख भए पनि बहुविवाह गरे के कारवाही गर्ने ? भन्ने प्रष्ट व्यवस्था थिएन । यससम्बन्धी संशोधन प्रस्तावमा भ्रष्टाचार गरेमा, विदेशको स्थायी अनुमतिपत्र लिएमा वा लिनको लागि आवेदन दिएमा, बहुविवाह गरेमा, जासुसीसम्बन्धी कसुर गरेमा, नागरिकता, उमेर र योग्यता ढाँटेर जागिर खाएमा, शरीर बन्धक, बहुविवाह, जवरजस्ती करणी तथा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा त्यस्ता कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने उल्लेख छ ।