काठमाण्डौं – कास्की २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा आइतबार दिउँसोसम्म नेकपा उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् । अहिलेसम्म विद्या ७ हजार २९ मतान्तरले अघि छन् ।
११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा ५ वटा वडाको मतगणना भइसकेको छ । वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ । अब वडा नम्बर १५ को मतगणना थालिएको छ ।
कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कुल मतदाता संख्याको ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए ।
प्रदेशसभा सदस्य ३ ख
प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा भएको उपचुनावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता बढाएको छ । बबई र तुलसीपुको १ र २ वडाको ६ हजार ९४३ मत गणना हुँदा नेकपाकी विमला कुमारी खत्रीले एक हजार ७७ मतले लिड गरेकी छन् । विमलाले ३ हजार ९१३ मत ल्याउँदा नेपाली कांग्रेसका केशवराज शर्माले २ हजार ८३६ मत ल्याएका छन् ।
यस्तै, राप्रपाका भुपाल रावतले २७, साझा पार्टीका शिवकुमार चौधरीले २६, समाजवादीका डिल्लीबहादुर डांगी र राप्रपा संयुक्तका छोटिलाल थारुले १३र१३ मत मंगोल अर्गनाइजेशनका घनश्याम चौधरीले ८, नेमकिपाका सुरेश परियारले ५, मालेका हरिप्रसाद डांगीले ४ मत पाएका छन् । अन्य पाँच जना उम्मेदवारहरुले भने अहिलेसम्म १ मत पनि पाएका छैनन् । यो क्षेत्रमा तत्कालीन एमालेबाट विजयी भएका उत्तरकुमार ओलीको दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो ।
बागलुङमा मतगणना सुरु
बागलुङमा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १२ ः४० बजेबा मतगणना सुरु भएको हो । क्षेत्र नं २ (ख) प्रदेशसभाका लागि शनिबार भएको मतदानका मतपेटिका जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याएर मतगणना थालिएको हो । प्रदेशसभा (ख) मा पर्ने ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’ र ‘ख’ दुवैको एकै ठाउँमा राखेर अहिले गणना भइरहेको छ ।
आइतबार बिहान ८ बजेदेखि मतगणना प्रारम्भ गर्ने भनिएको भए पनि सर्वदलीय बैठक बस्न ढिलाई र त्यसपछिका तयारीका कारण समय लम्बिएको थियो । प्रारम्भीक मत परिणाम आउन ४० देखि ५० मिनेट लाग्ने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।