काठमाडौं – उपनिर्वाचन भएका बिभिन्न जिल्लाका स्थानीय तह अन्तर्गत ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिदा सत्तारुढ नेकपाले २२ वडाध्यक्ष जितेर अग्रता कायम राखेको छ । नेपाली कांग्रेस १२ वडाध्यक्ष जितेर दोस्रो स्थानामा छ भने समाजवादी पार्टीले ३ वटा वडाध्यक्ष जितेर तेस्रो स्थानमा छ । राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ वडाध्यक्ष जितेको छ । अन्य कुनै पनि दलले वडाध्यक्ष जित्न सकेका छैनन् ।
उपचुनाव भएका ४३ वडामध्ये यसअघि तत्कालीन एमालेले जितेका २१ र माओवादीले जितेका २ समेत गरी २३ वडामध्ये नेकपाले ८ वडा गुमाएको छ । तर उसले यसअघि कांग्रेसले जितेका समेत गरी ८ वटै वडा जितेर आफ्नो संख्या कायम राख्न सफल भएको छ ।
नेकपाले यसअघि जितेकामध्ये हिलिहाङ ७ पाँचथर,धनपालथाम २ मोरङ,हरिपुर्वा १ सर्लाही, भरतपुर १६, मालारानी ३ अर्घाखाची, घोराही १६ दाङ, दोगडा केदार ४ बैतडी, पुर्चौडी ४ बैतडी गुमाएको छ ।
पहिले जितेका ८ वडा गुमाउँदा उसले त्यति नै संख्यामा नयाँ ठाउँमा जित निकालेको छ । नेकपाले उपचुनावमा नयाँ जित निकालेमा वडामा फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२ सिरहा, इन्द्रावती ८ सिन्धुपाल्चोक, कोहलपुर ६ बाँके, थवाङ १ रोल्पा, मेल्लेख ५ अछाम, त्रिवेणी १ बाजुरा छन् ।
त्यस्तै नेपाली कांग्रेसले जितेका ठाउँमा उपचुनाव हुने १२ वडा थिए । तीमध्ये कांग्रेसले ८ वटा वडा गुमाएको छ । तर उसले नेकपा र राजपाले यसअघि जितेका वडामा नयाँ जित निकालेर ८ नयाँ वडा जितेर १२ स्थानमा आफ्नो विजय निकालेको छ ।
कांग्रेसले यसअघि जितेका फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२, इन्द्रवाती ८, बारागढी १ बारा, कोहलपुर ६, त्रिवेणी १ बाजुरा र मेल्लेख ५ अछाम गुमाएको छ ।
कांग्रेसले हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ, गढीमाइ २ रौतहट (राजपा गुमायो), भरपुर १६ चितवन, मालारानी ३ अर्घाखाँची, घोराही १६ दाङ, पुर्चौडी ४, बैतडी, दोगडा केदार ४ बैतडीमा नयाँ जित निकालेको छ ।
यसअघि राजपाले जितेका ३ मध्ये २ वडा गुमाएको छ भने समाजवादीले ३ वटा वडा जितेर एक सिट थपेको छ ।
४३ वडामा भएको निर्वाचनमध्ये प्युठानको ऐरावती गाउँपालिका १ र २ को मतपरिणाम प्राप्त हुन बाँकी छ । यसैगरी महोत्तरीको बलवा गाउँपालिका ८ र धरान उपमहानगरपालिका ७ को परिणाम पनि आउन बाँकी छ ।