काठमाडौं – तीन तहका रिक्त ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ । शनिबारको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटना बाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । मतदानको पूर्णविवरण आउन बाँकी रहे पनि अधिकांश स्थानमा करिब ७० प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
उपचुनाव प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभा तर्फ बागलुङ २ (ख), भक्तपुर १ (क) र दाङमा ३ (ख) मा मतदान भएको छ ।
यस्तै, धरान उपमहानगरपालिका, मकालु, पिपरा, फाल्गुनन्द गाउँपालिकामा प्रमुख, खार्पुनाथ गाउँपालिकामा उपप्रमुख र ४३ वडाध्यक्षका लागि मतदान भएको छ ।
स्थानीय तहको निर्वाचन भएको करिब अढाइ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सातवटा वडा अध्यक्षका लागि शनिवार मतदान सम्पन भएको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २, अछामको मेल्लेख गाउँपालिकाको वडा नम्बर ५ र बैतडीको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदका लागि मतदान भएको छ । त्यस्तै, बैतडीकै पुर्चौडी गाउँपालिकाको वडा नम्बर ४ र सुर्नया गाउँपालिकाको वडा नम्बर १, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर ३ र बाजुराको त्रिवेणी नगरपालिकाको वडा नम्बर १ मा पनि मतदान सम्पन्न भएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका ७० प्रतिशत मतदान
बाजुराको त्रिवेणी ५ मा १ हजार ३९ मतदाता रहेकोमा ७२७ जनाले मतदान गरेका छन । ३८३ जना महिला र ३४४ जना पुरुषले मतदान गरेको जनाइएको छ । यस वडा अध्यक्षका लागि नेकपाका मनराजे बुढा , नेपाली काग्रेसका खगेनद्र चदारा र राष्ट्रिय प्रजातन्त्र पार्टीका मिन बहादुर ढोलीले उम्मेदवार छन ।
कन्चनपुरको पुर्नवास नगरपालिका ३ मा ७७ प्रतिशत मतदान
पुर्नवास नगरपालिका ३ मा १ हजार १ सय ९९ मतदाता मद्ये ९ सय २४ जनाले मतदान गरेका छन । पूर्नवास ३ मा ७७.६ प्रतिशतले मतदान गरेका छन् । उपनिर्वाचनमा ५३४ महिला र ३९० जना पुरुषले मतदान गरेको छन् । यस वडा अध्यक्षका लागि नेपाली कांग्रेसका दीप तामाङ, नेकपाका कृष्ण तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही र राप्रपा संयुक्तका श्रीधन तामाङले उम्मेदवार छन ।
डोटीको आदर्श गाउँपालिका २ मा ६५ प्रतिशत मतदान
आदर्श गाउँपालिका २ मा २ हजार ४ सय ५९ मतदाता रहेकोमा १, ५९३ जनाले मतदान गरेका छन । ३ मतदान केन्द्रमा कालिभैरव माध्यमिक विद्यालयमा ३६५, नमादेव आधारभूत विद्यालयमा ५७२, शारदा माध्यमिक विद्यालयमा ६५६ गरी जम्मा १५९३ मत खसेको छ । यस वडामा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार भुमी सिं खड्का, नेपाली काङ्ग्रेसका महादेव साउँद, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राम बहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीका काशीराम ओझाले उम्मेदवार छन ।
अछामको मल्लेख गाउँपालिका ५ मा ७१ प्रतिशत मतदान
अछामको मल्लेख गाउँपालिका ५ मा १ हजार ४ सय ९ मतदाता रहेकोमा १ हजार ३ सय ५६ जनाले मतदान गरेका छन । जसमध्ये भवानी आधारभूत विद्यालय काटेगाउँमा ६५२ मतदाता रहेकोमा ४७३ मत खसेको छ । त्यस्तै जनता मावि मेल्लेखको क मतदान केन्द्रमा ६४४ मतदाता रहेकोमा मत ४६२ मत खसेको छ । सोही विद्यालयको ख मतदान केन्द्रमा ६०८ रहेकोमा ४२२ मत खसेको छ । शनिबार राति नै मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वडामा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशबहादुर खड्का र नेपाली कांग्रेसको तर्फबाट बिरबहादुर बोहोराले उम्मेदवार छन ।
केहि स्थानमा बम भेटीए
उपचुनाव अन्तरगत सुदूरपश्चिमका केहि स्थानमा बम भेटीएको छ । कन्चनपुरको पूर्नवास नगरपालिका ३ मा वडाध्यक्षका लागि भइरहेको मतदानस्थल नजिक भेटिएको शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ । मदातानस्थल भन्दा करिब २ सय मिटर टाढा झोला भित्र शंकास्पद बस्तु फेला परेको थियो ।
त्यस्तै बैतडीको दोगडाकेदार गाउँपालिका ५ मा शंकास्पद बस्तु फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार दोगडाकेदार गाउँपालिका ५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा उक्त बस्तु फेला परेको हो । उक्त शंकास्पद बस्तु सेनाले डिस्पोजल गरेको छ । यस्तै डोटीको आदर्श गाउँपालिका २ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम भेटिएको थियो । शुक्रबार राति कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको हो । भेटिएको प्रेसर कुकर बम राती नै नेपाली सेनाद्धारा डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।