काठमाडौँ – लामो समय सुस्त रहँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका कामलाई तीव्रता दिन नेपाल भारत सहमत भएका छन । भारतको नयाँ दिल्लीमा शुक्रबार सम्पन्न पञ्चेश्वर विकास प्राधिकरणको गभर्निङ काउन्सिलको साताँै बैठकमा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को समीक्षा गरी निर्णयमा पुग्न माघ १ गते नयाँ दिल्ली मै विज्ञ समूहको बैठक बस्ने सहमति जुटेको छ ।
करिब २० महिना देखि बस्न नसकेको प्राधिकरणको बैठकमा नेपाल पक्षले आयोजनाका कामलाई तीव्रता दिन विशेष जोड दिएको थियो । खासगरी भारतीय पक्षबाट आयोजनास्थलमा आपूर्ति हुनुपर्ने प्रमुख कार्यकारी अधिकृत लगायतका कर्मचारी तथा प्राविधिक स्थायी रूपमै खटाउन नेपाली पक्षले माग राखेको थियो ।
भारतीय पक्षले पठाउनु पर्ने कर्मचारी तथा अन्य बन्दोबस्तीको व्यवस्था एक महिना भित्र गर्ने प्रयासमा जुट्ने प्रतिबद्धता जनाएको छ । बैठकमा नेपाल पक्षको नेतृत्व गर्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले पञ्चेश्वर परियोजना विकासका लागि यो बैठक फलदायी भएको टिप्पणी गरे ।
“लामो समयदेखिको संवादहीनता टुङ्गिएर परियोजना विकासका सन्दर्भमा ठोस प्रगति भएको छ”, उनले भने, ‘‘विज्ञ समूहलाई सक्रिय बनाएर डीपीआरको टुङ्गो लगाउन बैठक फलदायी भएको छ ।” बैठकले म्याद सकिएको सो समूहको अवधि एक वर्षका लागि थप समेत गरेको छ ।
बैठकमा आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउने प्रस्ताव भारतीय पक्षले राखे पनि नेपाल पक्षले तत्काल अवश्यक नरहेको धारणा राखेको थियो । जग्गाको वास्तविक आवश्यकता केकति हो त्यसको अध्ययन गरेर मात्र अगाडि बढाउन सुझाव नेपाल पक्षले दिएको थियो । बैठकमा भारत पक्षको नेतृत्व त्यहाँको जलशक्ति मन्त्रालयका सचिव यूपी सिंहले गरेका थिए ।
छलफलमा उठेका संशोधानका विषयलाई समेटर आठाँै बैठकले यो पारित गर्नेछ । त्यस्तै प्राधिकरणको लेखा परीक्षण गर्न लागि भारतको महालेखा परीक्षक (सीएजी)ले तयार पारेको कार्यविधिबारे पनि छलफल भएको थियो ।
उक्त कार्यविधिलाई सरकारी स्तरमा स्वीकृतिका लागि एक साताभित्र पेस गर्ने निर्णय पनि बैठकले गरेको छ । सुदूरपश्चिम प्रदेशको महाकाली नदीको पञ्चेश्वरमा बाँध बाँधेर छ हजार ४८० मेगावाट र रूपाली गाडमा अर्को बाँध मार्फत २४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । साथै नेपाल र भारतको लाखौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य पनि सो आयोजनाको छ ।