अत्तरिया - च्याम्पियन्स लिग खेल हेर्न पुगेका तिन नेपाली युवाहरुले बार्सिलोना फुटबल क्लबको घरेलु मैदान क्याम्प नाउमा नेपाली राष्ट्रिय झण्डा फरफराएका छन् ।
माल्टामा बस्दै आएका तीन नेपाली युवाहरुले बुधबार क्याम्प नाउ पुगेर हजारौं फुटबलका समर्थकहरुबीच नेपालको राष्ट्रिय झण्डा फराएका हुन् ।
करिब १० महिना देखि माल्टामा बस्दै आएका यी तीन युवा फुटबल हेर्न बार्सिलोना पुगेका थिए । बार्सिलोना फुटबल क्लबलाई समर्थन गर्दै आएका कैलालीको घोडाघोडी नगरपालिका ९१ सुखडका गणेश पाण्डेयले लाइभ खेलको मज्जासंगै स्टेडियममा नेपालको राष्ट्रिय झण्डा फराउने सपना पुरा भएको बताए ।
उनले भने , “सधै टेलिभिजनमा खेल हेर्थ्यौ । आज आफ्नै आँखाले स्टेडियममा सबैसँग बसेर खेल हेर्न पाए , मेरो बर्षौ देखिको सपना पुरा भएको छ।”
त्यस्तै गुल्मीका धुर्ब शर्मा र दैलेखका लोकेन्द्र भण्डारीले पनि स्टेडियममै पुगेर बार्सिलोनाको खेल हेर्ने सपना पुरा भएको बताए । पछिल्लो समय स्पेनमा रहेका नेपालीहरु फुटबल खेलहरु हेर्न स्टेडियम पुग्ने गरेका छन् ।
बुधबार राति सम्पन्न भएको च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया डर्टमण्डलाई पराजित गर्दै बार्सिलोना विजयी भएको छ ।स्टार खेलाडी लियोनल मेसीको शानदार प्रदर्शनसँगै निकालेको ३–१ गोलको जितमा बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ । खेलमा लियोनल मेसीले एक गोल तथा दुई एसिस्ट गरेका थिए ।
मेसिले खेलको ३३ औं मिनेटमा गोल गरे भने २९ औं मिनेटमा स्वारेजले तथा ६७ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गरेको गोलमा एसिस्ट प्रदान गरेका थिए । यससँगै बार्सिलोना १ खेलअघि नै च्याम्पियन्स लिगको समूह विजेता पनि बन्ने पक्का भएको छ । त्यस्तै, मेसी च्याम्पियन्स लिगमा सर्वाधिक क्लबविरुद्ध गोल गर्ने खेलाडी पनि बनेका छन् ।