काठमाडौं – भारतले नेपाली भूमि लिपुलेक जाने सडक खण्ड निर्माण गर्दा गराइरहेको विस्फोटले नेपाली बस्ती जोखिममा परेको छ । भारतीय कब्जामा रहेको नेपाली भूमि लिपुलेक जाने बाटो बनाउँदा ठाउँ–ठाउँमा भइरहेका विस्फोटले नेपाली बस्ती र भू–भाग जोखिममा परेको हो ।
व्यास गाउँपालिकाका अध्यक्षका निजी सचिव दिपक खातीका अनुसार भारतले गर्भा देखि माथिल्लो क्षेत्र र लिपुलेकबाट गरि दुई स्थानबाट बाटो निर्माण सुरु गरेको छ । भारतको धार्चुला हुँदै जाने बाटो बनिरहेको हो ।
जसका लागि भारतले हेलिकप्टरबाट निर्माण र विस्फोटक सामग्री ढुवानी गरिरहेको उनले बताए ।
केही दिनअघि व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिँह बुढाथोकी, दार्चुला तिकंर सडकखण्ड आयोजनाका प्रमुख अच्युत पन्त लगायतको टोलीले भारतले बनाइरहेको बाटोबारे अध्ययन गरेको थियो ।
गाउँपालिका अध्यक्ष सहितको टोलीले भारतले आफ्नो भूमिबाट लिपुलेक जाने बाटो बनाउँदै गर्दा गराइरहेको विस्फोटले चट्टान उछिट्टिएर नेपालको बाटो ठाउँ–ठाउँमा भत्काएको उनले बताए ।
भारतीय पक्षले गराएको विस्फोटबाट माल्पा, घाटि वगड लगायत नेपाली भू–भागमा व्यास गाउँपालिकाले बनाएको सडक भत्किएको छ ।
व्यास गाउँपालिकाका अध्यक्षका निजी सचिव खातीले बाह्रखरी सँग भने,‘‘ठाउँ–ठाउँमा चट्टान महाकाली नदीमै खसेका छन् । कतिपय स्थानमा त महाकाली नै थुनिने खतरा छ । महाकाली थुनिएको अवस्थामा दार्चुलावासीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था छ ।’’ भारतीय पक्षले बनाइरहेको बाटो र त्यसबाट पर्ने असरबारे केन्द्र सरकारलाई समेत जानकारी भइसकेको छ ।
केही दिनअघि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नक्सा जारी गरेपछि नेपालमा व्यापक विरोध भएको थियो । सरकारले कूटनीतिक पहल मार्फत् विवाद सुल्झाउने बताइँरहदा लिपुलेक जाने बाटोबाट नेपालले थप क्षति बेहोर्नुपर्ने सम्भावना बढेर गएको छ । – बाह्रखरी