काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पु¥याउने गरी आफूले काम गर्ने बताएका छन् । आगामी तीन वर्षभित्र चीनबाट पाईप लाईनमा नेपालमा तेल ल्याउने पनि उनको दाबी छ । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न आफू सक्रिय भएर लाग्ने उनले बताए ।
‘यो नारामा ठूलो कुरा लुकेको छ, हामी यसलाई साकार पार्न दत्तचित्त भएर लागिरहेका छौं । जब सम्म जनता सुखी हुँदैनन्, तबसम्म मुलुक समृद्ध हुँदैन’, उनले भने, ‘मुलुक समृद्ध नभए सम्म जनता सुखी हुँदैनन् । यसमा द्वन्द्वात्मक सम्बन्ध छ ।’ साक्षात्कारमा बोल्दै उनले अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गतिका साथ सञ्चालनमा ल्याउने तयारीमा सरकार लागेको पनि सुनाए । ‘सरकारी उद्योगहरुले मुनाफा गर्न सकेका छैनन’, उनले भने, ‘अब यसलाई मुनाफा तर्फ लैजान हामी छलफल गरिरहेका छौं ।’ त्यस्तै, निजी क्षेत्रको लागि पनि औद्योगीकरणको वातावरण बनाउन आफूले आवश्यक पहल गरिरहेको मन्त्री भट्टले सुनाए ।
‘औद्योगीकरणका लागि वातावरण बनाउन पहल भैरहेको छ । कतिपय ऐन, कानुन बनिसकेका छन् । कतिपय कार्यविधिहरु बन्ने प्रक्रियामा छन,’ उनले भने, ‘अब सुस्त गतिमा हिँडेर काम छैन, नतिजा दिने गरी अघि बढ्छौं ।’ उनले निजी क्षेत्रका उद्योगहरु नाफामा गएका तर सरकारी उद्योगहरु घाटामा जानुको कारणबारे पनि आफूहरुले अध्ययन तथा अनुशन्धान गरिरहेको बताए । नेपाललाई कृषि लगायत अत्यावश्यक वस्तुमा आत्मनिर्भर बनाउन पर्याप्त पहल भइरहेको पनि उनले सुनाए ।
मन्त्री भट्टले आफूले घरमा भैंसी पालेको सुनाए । उनले भने,‘मेरो घरमा मैले भैंसी पालेको छु । घरमा दुध किन्नुपर्दैन । सबैले गाई, भैंसी पाल्नुपर्छ । यसो गर्न सकियो भने दुधमा हामी आत्मनिर्भर हुनेछौं ।’ किसानहरुको उत्पादनलाई उचित मूल्य दिने गरि आफूहरु छलफलमा जुटेको बताउँदै भट्टले त्यही अनुसारको संयन्त्र बनाउने पनि दाबी गरे । ‘किसानको उत्पादनलाई उचित मूल्य दिनेगरि नीति र योजना ल्याउँछौं ।’