कन्चनपुर – घर निर्माणका लागि सरकारबाट पाउनुपर्ने दोस्रो किस्ता रकम नपाउँदा कञ्चनपुरमा मुक्त हलियाका घर निर्माण काम अलपत्र परेको छ । रकम नपाउँदा कञ्चनपुरका ४ सय ५४ मुक्तहलियाको घर निर्माण कार्य ठप्प भएको राष्ट्रिय मुक्ति हलिया समाजका अध्यक्ष सिपी लोहारले बताए । “घर निर्माणका लागि पहिलो चरणमा एक हजार ७ सय ८८ ले किस्ता बुझेका थिए”, उनले भने, “दोस्रो किस्ता नआउँदा घर बनाउने काम प्रभावित भएको छ ।” उनले स्थानीय तहमा मुक्तहलियाको बजेट आएपनि खर्च हुन नसकेको बताए ।
“सरकारले गत असार मसान्तमा बजेट निकासा गर्दा तत्काल जग्गा खोज्न समस्या भयो”, उनले भने, “अझै रु नौ करोड बजेट आउन बाँकी छ ।” कञ्चनपुर जिल्लामा एक हजार ९९१ ले मुक्तहलिया परिचयपत्र प्राप्त गरेका थिए । जसमध्ये एक हजार ७५० पुनःस्थापना भइसकेका छन् भने एक सय ६ ले अहिले सम्म केही नपाएको अध्यक्ष लोहारले बताए ।
मुक्तहलियालाई जिल्लामा भूमि सुधार कार्याल यमार्फत घर बनाउन प्रतिव्यक्ति रु दुई लाख २५ हजार र घर मर्मतका लागि रु एक लाख २५ हजार दिने सरकारले निर्णय गरेको लोहारको भनाइ थियो । “यहाँ रकमका लागि जाँदा भूमि सुधार मन्त्रालयबाटै निकासा भएको छैन भनेर फर्काउछन”, उनले भने, “रकम अभावले मुक्तहलिया पीडित बनेका छन् ।”
मुक्तहलियाको समयमा पुनःस्थापना हुन नसकेको र स्वरोजगार बनाउने विषयमा पनि ध्यान जानुपर्ने बेला आएको सरोकारवालको भनाइ छ । अर्कातिर आयस्तर कमजोर हुँदा मुक्त हलियाका बालबालिका विद्यालय जानबाट बञ्चित हुनु परेको गुनासो छ । भीमदत्तनगरपालिका–१९ बागफाँटा स्थित चौधर नदीको छेउमा मुक्तहलियाका ३५ घर बनेका छन् ।
स्थानीय विरराम विकले मुक्तहलिया बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल जस्ता पूर्वाधार नहुँदा समस्या भोग्नुपरेको बताए । “छाक टार्नकै लागि फेरि पनि अरुको मजदूरी गर्न पर्ने अवस्था विद्यमान छ”, उनले भने, “हामीलाई रोजगारी र सीपमूलक तालीम दिएर आत्मनिर्भर बनाउनुपर्छ ।” यहाँका करिब १२ वटा स्थानमा मुक्तहलिया पुनः स्थापना अन्तर्गत घर निर्माणकार्य भइरहेको छ । मुक्तहलियालाई चार वर्गमा वर्गीकरण गरिएको छ । रासस