अत्तरिया – च्याउँ खेती विस्तारका लागि गोदावरी नगरपालिकाले प्रत्येक वडाहरुमा कन्ने च्याउँको बीउ वितरण गरेको छ । ७५ प्रतिशत गोदावरी नगरपालिकाको अनुदानमा प्रत्येक वडामा च्याउँको बीउ वितरण गरेको हो ।
गोदावरी नगरपालिका कृषि शाखाका अधिकृत पदम बहादुर मालीले गोदावरी नगरपालिकाका प्रतेक वडा र नगरपालिकाको कार्यालयबाट च्याउँको बीउ वितरण गरिएको बताए । उनले नगरपालिकाको वडा नम्बर ११ मा ५० पोका, वडा नम्बर १० र १२ मा ७५/७५ पोका र बाकी वडामा १/१ सय पोकाका दरले बीउ वितरण गरिएको बताए । बाकी ११ सय पोका भने नगरपालिका कार्यालयबाट विगतरण गरिएको छ ।
अधिकृत मालीले एक पोका च्याउँको बीउ बरावर ३ ओटा पोलिथिन पनि ७५ प्रतिशत अनुदानमा वितरण गरिएको बताए । उनले यो च्याउँको बीउ परालमा राखेर उत्पादन गर्न सकिने बताए ।
कन्य च्याउ खेती प्रविधि
कन्य च्याउ नेपालमा सवैभन्दा बढि खेती गर्न सकिन्छ । यो च्याउ खेती धानको पराल, गहुँ वा जौको छ्वाली मकैको ढोड आदीमा गर्न सकिन्छ । आवश्यकता अनुसार पराललाई २/३ औल लामो पारेर टुक्रा पार्नुपर्छ । यसरी टुक्रा पारिएको पराललाई २÷३ घण्टासम्म सफा पानीमा भिजाउनु आवश्यक पर्छ । त्यसपछि भिजाएको पानीलाई तर्काउन ३–४ घण्टासम्म सफा ठाउँमा सफा सामाग्री जस्तै प्लाष्टिक, गुन्द्रीले छोपेर राख्नुपर्छ । त्यसपछि तयार भएको पराललाई बफाउन पर्दछ ।
पराल बफाउने तरिका
पराल बफाउनुको उद्देश्य भनेको परालमा रहेका हानिकारक किरा रोगका किटानुहरु नष्ट गर्नु हो । पराल बफाउन ड्रम अथवा माटोको पोटासी प्रयोग गर्नुपर्छ । बफाउन प्रयोग गरिएको भाडोमा ५–६ इन्चसम्म पानी राखी त्यसमा ३–४ इटा राख्नुपर्छ । नभिजाएको पराल राम्ररी खाँदेर प्रयोग गरिएको भाडोको मुख राम्रोसँग छोप्नुपर्दछ । यसरी कम्तीमा आधा घण्टासम्म बफाउनु पर्छ । पराल बाफिए पछि त्यस पराललाई या तँ सोही ड्रममा या तँ अन्य सफा ठाउँमा राखी चिसो हुन दिनु पर्छ ।
च्याउको बीउ राख्ने तरिका
यो च्याउको बीउलाई प्राय गहँुको दानामा बनाइएको हुन्छ । १२.१ वा १६ इन्च । २६ इन्चको प्लाष्टिकको थैलो प्रयोग गरी यसको बीउलाई रोप्न सकिन्छ । प्लाष्टिकमा राप्दा तह बनाउन आवश्यक छ । १ तह बीउ, एक तह पराल गरी हातले थिच्नुपर्दछ । त्यसपछि त्यस प्लाष्टिकको थैलोमा ४–५ वटा हावा छिर्ने प्वालहरु पार्नुपर्छ । थैलोको मुख राम्ररी बाँधेर ३ हप्तासम्म अँध्यारो र न्यानो कपडामा राख्नुपर्छ ।
च्याउको हेरबिचार
थैलाहरु राख्ने कोठाको तापक्रम २२–२५ सेन्टीग्रेट हुनुपर्छ । बीउ रोपेको २०–२२ दिनमा च्याउको दुसी फिजिएर पराल भरी सेतो देखिन्छ । उक्त डल्लोलाई एक–एक बित्ता १२–२० सेन्टीमिटरको फरकमा सफा इटा वा ढुङगा माथि राख्नुपर्छ । अब यी डल्लाहरुमा दिनको २÷३ पटक हल्का रुपमा पानी छर्नुपर्छ । पानी दिदा डल्ला भिजेपछि वरिपरीको खाली ठाउँमा पर्न दिनुपर्छ । जसले यस अवधिमा कोठाको तापक्रम २०–३० सेन्टिग्रेड हुनुपर्छ । पानी दिएको ४–५ दिनमा च्याउँका मसिना फल देखिन्छन । त्यसपछि ४–५ दिनमा च्याउ टिप्नुपर्छ ।
च्याउ टिप्ने
च्याउ टिप्दा डल्लामा च्याउका ठुटा रहन नदिइकन टिप्नुपर्छ । च्याउ टिप्ने समयमा कोठामा हावाको सञ्चालन हुनुपर्छ । पहिले जस्तै २–३ पटक हलुका पानी दिइरहनु पर्छ । ७–१० दिनको अन्तरालमा ३–४ पटक सम्म च्याउ टिप्न सकिन्छ । १ केजी परालवाट ५०० ग्राम च्याउ उत्पादन गर्न सकिन्छ ।