काभ्रेपलाञ्चोक – जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका(९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ ।
पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले ९ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३७ वर्षीय घरधनी रानाभाट सहित धुलिखेल नपा ३ का ४१ वर्षीय भीमसेन तामाङ र ३६ वर्षीय कृष्णकुमार तामाङ, नमोबुद्ध नपा २ का ४२ वर्षीय नेमा लामा, नमोबुद्ध नपा ३ का ३६ वर्षीय अर्जुन तिवारी, नमोबुद्ध नपा ४ का ३५ वर्षीय रमेश तिवारी, रोशी गाउँपालिका ७ का २६ वर्षीय पुष्कर दर्जी, बनेपा नपा ११ का ४२ वर्षीय सुमन अधिकारी, बेथानचोक गाउँपालिकाका ३२ वर्षीय जयराम तिमल्सिना, चौँरीदेउराली गाउँपालिका ५ का ३७ वर्षीय रामप्रसाद चौलागाईं , पाँचखाल नपा ७ का अच्युत चौलागाईं, महाभारत गाउँपालिका ३ का २४ वर्षीय सुजन लामा, बनेपा नपा ६ का सुजन केसी रहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
यस्तै, पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका ५ का ३१ वर्षीय अमृत बानियाँ, नुवाकोटको शिवपुरी गाउँपालिका ७ का २८ वर्षीय सन्तोष पाण्डे र सोही गाउँपालिका ७ का २५ वर्षीय प्रवीण पाण्डे, नुवाकोटकै लिखु गाउँपालिका १ का २८ वर्षीय नवराज थिङ, दोलखाको मेलुङ गाउँपालिका ३ का २२ वर्षका दीपक थोकर, दोलखाको विगु गाउँपालिका ४ का ३८ वर्षीय राजन शर्मा, झापाको कमल गाउँपालिका(५ का २८ वर्षीय जितेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नपा २ का ३८ वर्षीय नवीन गुरुङ, मकवानपुरको थाहा नपा ६ का २८ वर्षीय भुवन बलामी र सोही नपा(७ का ३५ वर्षीय बसुन्धरा केसी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको आइतबार राति नै मेडिकल जाँच गरी प्रहरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार उनीहरुलाई सोमबार म्याद थप गरी थप अनुसन्धान गरिनेछ । अनुसन्धानपश्चात पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाई कारबाही थालिन जनाइएको छ ।
यसअघि काभ्रेपलाञ्चोक प्रहरीले गत साउनमा बनेपा नपा(८ खसीबजारस्थित चतुरमान तामाङको डेराबाट सात जुवाडेलाई नियन्त्रणमा लिइ एक लाख २३ हजार बरामद गरेको थियो भने सोही दिन बनेपा नपा ६ रामन्दिर नजिकको दमाईसिं वाइवाको घरमा तास खेलिरहेका छ जनालाई पक्राउ गरी उनीहरुबाट एक लाख ४७ हजार बरामद गरेको थियो ।