सुदूरपश्चिम प्रदेशमा पर्यटनका तीन वटा फिल्ड कार्यालय खुल्ने भएका छन् । आफ्नो मातहतका संरचना नहुँदा बजेट कार्यन्वयनमा समस्या भएको भन्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नयाँ संरचना निर्माण गरेको हो । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को २०७५ पौष २६ गतेको निर्णयबाट स्वीकृत “प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयन इकाई सञ्चालन कार्य्विधि, २०७५” बमोजिम मन्त्रालयले आफू मातहत “प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयन इकाई” गठन गरेको हो । जस अन्तरगत ३ वटा फिल्ड अफिस समेत रहने र स्वीकृत साङ्गठनिक संरचना अनुरूप आवश्यक कर्मचारीहरूको ब्यवस्था समेत भैसकेकोले पर्यटन विकासका कार्यक्रमहरूले गति लिने जनाइएको छ ।
मन्त्रालयले पर्यटनका योजना कार्यान्वयन गर्न प्रदेशका पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा का लागी बैतडीमा फिल्ड अफिस राखेको छ । यस्तै डोटी, अछाम, बझाङ, बाजुराका लागि डोटी र कैलाली कञ्चनपुरका लागि कैलालीमा फिल्ड अफिस राख्ने तयारी थालेको छ । साना ठुला गरी झण्डै ४ सय पर्यटनका योजनामा बजेट विनियोजन गरेरको मन्त्रालयले योजना कार्यन्वयन गराउन प्रत्येक फिल्ड अफिसमा १ जना इन्जिनियर र २ जना सभ इन्जिनियर राख्ने गरी इन्जिनियरिङ सेवाको दरबन्दी कायम गरी करारमा नियुक्त समेत गरिसकेको छ ।
साथै, योजना पारदर्शी एवं द्रुत गतिमा कार्यन्वयन गर्न इकाइले योजना भएको स्थलमै सम्झौता गर्ने गरी मिसनको रूपमा काम गरिरहेको पर्यटन इकाईका योजना अधिकृत भोजराज पाठकले जानकारी दिए । उनले भने–‘मन्त्रालयले पर्यटनको बजेट कार्यन्वयन गर्न मिसन थालेको छ, पर्यटनको बजेट कार्यन्वयन हुन्छ, त्यसको लागि आवश्यक सबै तयारी भैसकेको छ, इन्जिनियरहरू आइतबार बाट फिल्डमा जान्छन् , काम तिव्र गतिमा हुँदैछ र हुन्छ, । योजनाको प्राविधिक लागत इष्टमेट, कार्यान्वयन र अनुगमन गर्ने गरी तिन वटा फिल्ड कार्यलयको काम नियुक्त भएका प्राविधिकहरूले गर्नेछन् ।
चालु आवमा प्रदेश मन्त्रालयको २३ करोड ८२ लाख र सङ्घीय सरकारको ४ करोड ५१ लाख सर्सत अनुदान गरी २८ करोड ३३ लाख रकम पर्यटनको क्षेत्रमा विनियोजन गरेको छ । बजेट कार्यन्वयन गर्न समेत पर्यटन विकास कार्यक्रम इकाइले बजेट खर्च गर्ने अख्तियारी समेत पाइसकेको छ । बजेट यो आर्थिक वर्षमा पूर्णरूपमा कार्यन्वयनमा आउने मन्त्रालयको दाबी छ ।