काठमाडौं– भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेपछि चौतर्फी विरोध भइरहेका बेला नागरिक समाजको तर्फबाट सुगौली सन्धिताकाको पश्चिमोत्तर क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ ।
नागरिकस्तरबाट गठित सीमा बचाउ अभियान अन्तर्गतको नक्सा बचाउ समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरी लिम्पियाधुरा र लिपुलेक सहितको भूमि समेटिएको नक्सा सार्वजनिक गरेको हो ।
नक्सा सार्वजनिक गर्दै सीमा बचाउ अभियानका संयोजक समेत रहेका वरिष्ठ पत्रकार भैरव रिसालले विज्ञहरुको टोलीले सुगौली सन्धिअनुसार कै नेपाली नक्सा तयार गरेको जानकारी दिए । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमिसमेत समेटिएको भन्दै रिसालले आफूहरुले तयार पारेको नक्सामा नेपालको एक इन्च जमिन पनि नछोडेको र भारतको एक इन्च जमिन पनि नसमेटिएको बताए ।
‘यो नेपालको वास्तविक नक्सा हो, आम नेपालीका घरघरमा पु¥याउन जरुरी छ,’ रिसालले भने, ‘यही नक्सा सरकारलाई बुझाउने तयारी गरिएको छ ।’
अभियानका सहसंयोजक डा. द्वारिकानाथ ढुंगेलले देशको भूमि मिचिँदा त्यसबारे सचेत नागरिक जुर्मराउनु दायित्व बोध गरेर आफूहरुले नक्सा तयार पारेको बताए। पश्चिमोत्तर क्षेत्रको सबै भूमि समेटिएर तयार पारेको नक्सा सरकारका साथै संयुक्त राष्ट्र संघमा समेत पठाउने उनले जानकारी दिए ।
नेपाल सरकारले कहिले पनि आफ्नो नक्सा तयार नगरेको भन्दै समितिले भारतले पश्चिमोत्तर क्षेत्रको नेपाली भूमि मिचेको भन्दा पनि नेपाल सरकारले नै छोडेको जनाएको छ । अभियानका संयोजक हिरण्यलाल श्रेष्ठले नक्सा अतिक्रमणको विरुद्धमा नयाँ नक्सा सार्वजनिक गरिएको बताए । सरकारले आधिकारिक नक्सा निकालेर अतिक्रमित भूमि फिर्ताको पहल गर्नुपर्ने उनको सुझाव थियो ।