काठमाडौँ — पछिल्लो एक वर्षमा शैक्षिक प्रमाणपत्र धितोमा राखेर ३५ जनाले मात्र सहुलियत ऋण सुविधा पाएका छन । एक वर्षअघि शैक्षिक प्रमाणपत्र धितोमा सहुलियत ऋण दिन सकिने व्यवस्था सरकारले ल्याएको थियो ।
‘शिक्षित युवा स्वरोजगार कर्जा’ नामक उक्त कार्यक्रम लागू भएको पनि करिब ११ महिना पुगिसकेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ३५ जनालाई मात्र यस्तो कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । यो गत असोज सम्मको तथ्यांक हो ।
सरकारको निर्देशनमा राष्ट्र बैंकले शिक्षित युवा स्वरोजगार कर्जासहित सात प्रकारका सहुलियत दरका कर्जा कार्यक्रम ल्याएको छ । ती सबै कर्जामा सरकारले ऋणीलाई पाँच प्रतिशत ब्याज अनुदान दिन्छ । उल्लिखित सहुलियत दरको कर्जामध्ये युवा स्वरोजगार कर्जामा सबैभन्दा कम ऋण प्रवाह भएको छ । यो माध्यामिक शिक्षा वा सोसरह उत्तीर्ण गरी ४० वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई प्रवाह गरिने कर्जा हो । यो कार्यक्रमअनुसार योग्यता पुगेका ऋणीले प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म ऋण पाउँछन् । आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखेर यो कर्जा पाइन्छ ।
शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिन आउने ग्राहक नै कम रहेकाले धेरै ऋण प्रवाह नभएको हुन सक्ने बैंकरहरूले जनाएका छन । ‘ऋण लिन नै आउँदैनन, आएका सँग पनि व्यवसायका लागि विश्वास गर्ने आधार निकै कम भेटिएका छन,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारीले भने, ‘राम्रो व्यावसायिक योजना लिएर आउनेलाई ऋण दिन समस्या हुँदैन ।’ त्यस्तो ऋणको अनिवार्य बिमा (सुरक्षण) हुने भएकाले जोखिम कम हुने ती अधिकारीले बताए ।
शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गर्न कम्तीमा स्नातक तह पास गरेको, ४० वर्ष ननाघेको, विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको भए, सो संस्था नेपाली कुनै एक विश्वविद्यालयको समकक्षता रहेको, घरेलु तथा साना उद्योग कार्यालयरसमिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत सरकारी निकायबाट कम्तीमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य रूपमा लिएको वा उक्त कर्जा स्वीकृति भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको हुनुपर्नेछ । ऋण लिन चाहने युवाले उद्योग सञ्चालन तथा कर्जा उपयोग सम्बन्धमा प्रस्ताव पनि पेस गर्नुपर्ने व्यवस्था छ ।