धनगढी -सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधर विकास मन्त्री पठानसिंह वोहराले चुरेको फेदी हुँदै कर्णाली चिसापानीबाट कञ्चनपुरको ब्रम्हदेवसम्म धार्मिक पर्यटन सडक निर्माण गर्ने बताएका छन । चुरे फेदीका वस्ती हुँदै ब्रम्हदेव सम्म सडक पु¥याउने विषयमा काम अघि बढेको छ उनले भने यसकालागि डिपिआरको तयारी भइरहेको छ ।
सो क्षेत्रमा सडक निर्माण भएमा चुरेबाट आउने बाढीको बाहव रोक्ने र तराईमा बाढीको प्रभाव कम हुने भएकाले पनि त्यसलाई प्राथमिकता दिन खोजेको उनले बताए ।प्रेस क्लवले शुक्रवार धनगढी आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री बोहराले सो कुरा बताए । उनले चिसापानी –ब्रम्हदेव सडक बनेमा पानीको बहाव रोकिनुका साथै तराई क्षेत्रकालागि रिचार्जको काम समेत हुने बताए ।
यो सडकलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाउन लागेको छ । चुरेको फेदी भएर सडक बनाउँदा रुख कटानी र भू–क्षयको खतरा हुन सक्ने आशंका उठेपनि सरकारले वातावरणीय प्रभाव मुल्याँकन गरेर क्षति नहुने गरेर काम अघि बढ्ने छ । पश्चिम ब्रम्हदेवबाट भीमदत्त नगरपालिकाले उक्त धार्मिक पर्यटन मार्गको काम शुरु गरिसकेको सो अवसरमा जानकारी दिए ।
हाल करिब १५ किलोमिटर सडक निर्माण भइसकेको छ ।सुदूरपश्चिमका प्रत्येक जिल्लामा एक एक वटा प्रदेश गौरवका आयोजना निर्माण गर्ने र यस क्षेत्रका जनताको जीवनस्तर उकास्ने काममा आफूहरु दिलोज्यान लगाएर काम गर्ने बचन समेत उनले दिए ।
सरसरर्ती प्रतिशतमा हेर्दा विकासले गति लिन नसकेजस्तो देखिएपनि आर्थिक वर्षको अन्तमा ८० प्रतिशत काम हुने दाबी समेत मन्त्री बाेहराको छ । फागुन सम्ममा १० प्रतिशतमात्र वित्तिय प्रगती देखिएपनि करिब २४ प्रतिशत विकास निर्माणको काम भएको बताउँदै अहिले पछिल्लो समयमा कामको गति निकै तिब्र भएकाले आर्थिक वर्ष भित्र ८० प्रतिशत पुरयाउने लक्ष्यका साथ काम भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ८ अर्व ८६ करोड बजेट रहेकोमा यो रकम अपुग भएकाले केन्द्र सरकारसंग थप ३ अर्ब रुपैंया माग गरेको मन्त्री बाेहराले बताए । सरकारले काम केही गर्न सकेको छैन भनेपनि आन्तरिक रुपमा काम भइरहेको उनले बताए । कामले गति लिइरहेको तर भुक्तानी नभएकाले तथ्याँकमा खर्च कम देखिएको उनको भनाई छ ।
असारे विकास प्रति प्रदेश सरकार सचेत रहेको बताउँदै मन्त्री वोहराले जेठ मसान्त पछि कुनै पनि काम गर्ने र रकम भुक्तानीको काम हुने छैन । असार १ गते प्रदेश सरकारको बजेट आउने भएकाले पुराना विकासका काम सम्पन्न गर्ने र नयाँ विकासका कामको बजेटमा उल्लेख गर्नुपर्ने अवस्था रहेको छ । यस भन्दा अघिको बजेट पहिलो भएकाले प्राथमिकता र आवश्यकताहरु भन्दा पनि बाहिर भएपनि यस पटक बजेट आवश्यकताका आधारमा प्रस्तुत हुने उनले जानकारी दिए ।