काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बुधवार साझँ ओलीले पुनर्गठन गरेकोमा केही मन्त्रीलाई हटाएका छन् भने केही पुरानैलाई निरन्तरता दिएका छन । प्रधानमन्त्री ओलीले चित्तबुझ्दो काम नगर्ने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको हो ।
नयाँ सूचीमा सुदूरपश्चिम प्रदेशबाट दुई जना मन्त्री बनेका छन् । कैलाली निर्वाचन क्षेत्र नं ४ वाट बिजयी सांसद लेखराज भट्टले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा पाउनुभएको छ भने यस अघि सुदूरपश्चिमबाट मन्त्री बन्नु भएकी खानेपानी तथा सररफाई मन्त्री विना मगर भने यथावत रहनुभएको छ । तत्कालीन माओवादी केन्द्रकबाट कैलाली क्षेत्र नम्बर ४ बाट विजयी लेखराज भट्ट नेकपाका स्थायी कमिटी सदस्य पनि हुन् ।
यस्तै मन्त्रिपरिषदको नयाँ सूचीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, सहरी विकासमन्त्री इस्तियाक राइ यादवलाई यथावत् राखिएको छ। समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको मन्त्रालय फेरिएको छ।
उनले समाल्दै आएको स्वास्थ्य मन्त्रालय नेकपाका भानुभक्त ढकाललाई दिइएको छ। उपेन्द्रलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। तत्कालीन एमाले कोटाबाट सरकारमा सामेल मन्त्रीमा भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई हटाइएको छ।
पूर्व माओवादीको कोटामा ओली सरकारमा सहभागी कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी पदमुक्त भएका छन्। राष्ट्रपति कार्यलयमा सिफारिस पठाइए पनि मन्त्रीले शपथ ग्रहण भने गरेका छैनन्। नयाँ मन्त्रीको शपथ कार्यक्रम बिहीबार बिहान राखिएको छ ।