महेन्द्रनगर – यस वर्ष कैलाली र कञ्चनपुरमा गरी साढे चार लाख मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले कैलालीमा तीन लाख ३३ हजार सात सय र कञ्चनपुरमा एक लाख ३० हजार सात सय २० मेट्रिक टन धान उत्पादन भएको जनाएको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले विगत वर्षको तुलनामा यस वर्ष पनि धान उत्पादन भएको बताए ।
“समयमा वर्षा नहुनुका साथै किसानले लगाएको गरिमा जातको धान नफल्दा धान उत्पादन घट्ने अनुमान गरेका थियौँ”, उनले भने । “तर गत वर्षकै तुलनामा उत्पादन भयो ।” सुदूरपश्चिम प्रदेशकै अन्न भण्डार मानिने कैलालीमा ७१ हजार हेक्टर र कञ्चनपुरमा ३८ हजार हेक्टरमा धान उत्पादन हुँदै आएको भट्टको भनाइ छ ।
“दुवै जिल्लामा गरी करीब ४० प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा छ”, भट्टले भने, “अझै धेरै किसानले आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ ।” त्यसैगरी कैलाली र कञ्चनपुरमा करीब सात सय हेक्टर क्षेत्रफलमा लगाइएको गरिमा जातको धान नफल्दा किसान मर्कामा परेका छन् ।
“हामीले तथ्याङ्क सङ्कलन गरेर माथि पठाइसकेका छौँ ।”, ज्ञान केन्द्रका प्रमुख भट्टले भने, “बीउबिजन समितिले सिफारिस सहित प्रतिवेदन सरकारलाई बुझाउने भनेको छ ।” उनले यहाँका पीडित किसानलाई राहत दिने विषयमा सरकारले निर्णय गर्ने बताए ।
कञ्चनपुरमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले महाकाली सिँचाइ आयोजना तेस्रो चरण र कैलालीमा रानीजमरा, कुलरिया सिँचाइ आयोजनाको निर्माण भइरहेको छ । कैलाली सुदूरपश्चिमको मात्रै नभई मुलुककै प्रमुख अन्न उत्पादन हुने जिल्लामा पर्छ । रासस