काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको २१ महिनाका २१ असफलता सार्वजनिक गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले नेकपा सरकारको २१ महिनाको समीक्षात्मक टिप्पणी २१ बुँदामा गरेको हो ।
‘बिहानीले दिउँसोको संकेत गर्दछ भनिएझै दुई तिहाइको सरकारको ५ वर्षको तीन भागमध्ये एक भाग अर्थात् २१ महिना अर्थात् एक तिहाई समय सकिइसकेको छ’, कांग्रेसले भनेको छ, ‘यो अवधिले बाँकी दिउँसो र साँझका लागि परिणाममुखी सुखद् संकेत विल्कुलै दिलएको छैन ।’
उपनिर्वाचनमा मतदान अगर्नुअघि मतदाताले २१ महिनामा सरकारले गरेका काम गहिरोगरी केलाउने विश्वास कांग्रेसको छ । कांग्रेसले सरकारको पहिलो असफलता राष्ट्रियताको प्रश्नमा रहेको दाबी गरेको छ ।
‘भारत सरकारले हालै जारी गरेको नक्सामा नेपालको अविभाज्य कालापानी लागयतका भूमि त्यसैभित्रै कोरेको छ । हाम्रो पश्चिमी सीमा महाकाली नदी हो र त्यस पूर्वको कालापानी लगायत हाम्रा भूभागबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्छ भनेर नेपाली कांग्रेसले आफ्नो धारणा प्रष्टसँग राखेको छ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘ती भूभाग फिर्ता लिन कम्युनिस्ट सरकारलाई कांग्रेसले सम्पूर्ण रुपमा साथ दिने सार्वजनिक घोषणा पनि हामीले गरिसकेका छौँ । तर, राष्ट्रिय एकताको यो घडीमा सार्थक कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल मार्फत् परिणाममुखी राष्ट्रवाद प्रस्तुत गर्न सरकार असफल भएको छ ।’
कांग्रेसले देखेका सरकारका २१ असफलता
–संविधान प्रति अपनत्वको दायर विस्तारमा असफल,
–सत्ताको सैद्धान्तिक चरित्र निर्माणमै असफल,
–संघीयताका बाँकी काम पूरा गर्न असफल,
–कूटनीतिक मामिलामा अपरिपक्वता,
–विप्लव प्रकरण – असफलताको फरक पाठ,
–शान्ति सुरक्षा – निर्मला प्रकरमा हरायो सरकार,
–मूल्य वृद्धि – धरहरा लडेर हुनुपर्छ सगरमाथा उक्लियो मूल्य,
–वाइडवडी लगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ,
–बुढी गण्डकी – कम्युनिस्ट सरकारको राष्ट्रघात,
–मेलम्ची परियोजना माथि खेलवाड,
– निजगढ एयरपोर्टको भविष्य अन्यौल,
– चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न,
–सरकारको नियतले असफल संवैधानिक परिषद,
– शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण,
–धर्मको प्रश्नमा होलीवाइन प्रकरण,
–गुठ विधेयक – जनशक्तिले झुकाएको सत्ता,
– सामाजिक सुरक्षा कोष – काम कसैको प्रचार कसैको,
–बालुवाटार काण्डमा लिलाम नैतिकता,
–कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो र
–असहिष्णु अभिव्यक्ति – अराजनैतिक चरित्र ।