अत्तरिया – कृषि उपज थोक बजार समितिद्धारा संचालित अत्तरियामा रहेको तरकारी थोक बजार दुर्गन्धित बनेको छ । कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको कृषि उपज थोक बजारको फोहोर व्यवस्थापन नहुँदा बजार जताततै दुर्गन्धित बनेको छ ।
थोक बजारमा फोहोर फाल्ने डस्टविन समेत छैनन् । तरकारी पसलबाट फालिएका फोहोर तथा कुहिएका तरकारी पनि जताततै फालेको देख्न सकिन्छ ।
कृषि उपज थोक बजार समितिका अध्यक्ष नन्द लाल भट्टले फोहर व्यवस्थापनका लागि गोदावरी नगरपालिका संग डस्टिविन माग गरेको भएपनि पाउँन नसकेका बताए । उनले अहिले समितिले आफै एक जना कर्मचारी राखेर कृषि उपज थोक बजारको फोहर संकलन गरेर खाल्डोमा हाल्ने गरेको बताए ।
‘नगरपालिका संग फोहोर संकलनका लागि पटक पटक अनुरोध गरेको भएपनि पाउन सकेनै । हामीले आफैले पनि एक ठाउँमा जम्मा गरेको फोहोर पनि नगरपालिकाको गाडीले संकलन गरिदिएन ।’ अध्यक्ष भट्टले भने – ‘१/२ दिन नगरपालिकाको गाडी आयो त्यसपछि आउनै छोड्यो अहिले बजार नजिकै खाल्डो खनेर फोहर फाल्ने गरेका छै । उनले फोहोर व्यवस्थापनका लागि राखेका कर्मचारीले सरसफाई गरिरहेका भएपनि फोहोर राख्ने डस्टबिन नहुँदा व्यवसायीहरुले जताततै फोहोर थुपारीदिने भएकाले फोहोर देखिएको बताए ।
फोहोर व्यवस्थापनका लागि अब छिटै समितिको बैठक बसेर कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेर निर्णय गरिने अध्यक्ष भट्टले बताए ।
कृषि उपज थोक बजारमा फलफुल र तरकारी जन्य फोहोर जताततै फालिएकाले छाडा गाईगारु समेत आफ्नो आहाराको खोजिका लागि जाने गरेका छन ।

यता गोदावरी नगरपालिका प्रवक्ता शर्मानन्द भट्टले अहिले गोदावरी नगरपालिकाले डस्टविन बनाईरहेकाले केहि दिनमै कृषि उपज थोक बजारमा राखिने बताए । उनले नगरपालिकाको फोहोर संकलन गर्ने गाडी कृषि उपज थोक बजारको फोहोर संकलन गर्न नगएको भए आफूले समन्वय गरेर गाडी पठाउने व्यवस्था गर्ने बताए ।
कृषि उपज थोक बजारमा अहिले ३० ओटा कृषि थोक पसल र ५ ओटा खुद्रा कृषि पसल रहेका छन । कृषि उपज थोक बजारमा भारत लगायत नेपालका कैलाली, कन्चनपुर, डडेल्धुरा, बैतडी, डोटी लगायतका क्षेत्रबाट तरकारी आउँने र स्थानिय बजार संगै काठमाण्डौ लगायत मौसम अनुसार शुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाईने गरेको छ । थोक बजारमा दैनिक ३० टन तरकारी र १० टन फलफूल बिभिन्न ठाउँबाट आउने गरेको कृषि उपज थोक बजार समितिले जनाएको छ ।
कोल्ड स्टोरको निर्माण कार्य पनि अलपत्र
कृषि उपज थोक बजार भित्रै निर्माणाधिन कोल्ड स्टोर निर्माण कार्य पनि अलपत्र परेको छ । कोल्डस्टोर संचालन गर्न सकिने स्ट्रक्चर निर्माण गर्नका लागि न्यु सिद्धार्थ रेफ्रिजेरेसन ९५ लाखमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०७२ साल जेठ २० गते सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने भएपनि अहिले सम्म स्ट्रक्चर काम समेत सम्पन्न हुन सकेको छैन ।
अहिले कोल्ड स्टोर निर्माणमा स्टमेट भन्दा बढी काम भएको भन्दै निर्माण कम्पनिले अधुरै काम छोडेको छ भने कृषि बजार व्यवस्थापन समितिले रकम अभाव भएको भन्दै काम अगाडी बढाउन सकेको छैन ।
कोल्ड स्टोरको स्ट्रक्चर निर्माण कार्य अलपत्र परिरहदा कोल्डस्टोरमा जडान गरिने मेसीनका लागि अझै ६० देखि ६५ लाख आवश्यक पर्ने देखिएको छ । तर अहिले स्ट्रक्चर निर्माणकै लागि रकम अभाव हुँदा कोल्ड स्टोर निर्माण अन्यौलता कायमै रहेको छ ।
गोदावरी नगरपालिका मार्फत उपलब्ध भएको ४५ लाख र संघिय सरकारको बजार निर्देशनालय मार्फत ५० लाखमा समेत कोल्डस्टोरको स्ट्रक्चर निर्माण हुँन नसक्दा मेसिन जडानको लागि अन्यौलता कायम रहेको कृषि उपज थोक समितिले जनाएको छ ।
