काठमाण्डौं – नेपाली भूमि कालापानी बारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दिएको कडा अभिव्यक्तिलाई लिएर भारतीय नेताहरुले मुख खोल्न थालेका छन् । मंसिर १ मा काठमाडौंमा भएको राष्ट्रिय युवा संघको भेलामा प्रम ओलीले दिएको कडा अभिव्यक्ति पछि भारतीय सञ्चार माध्यम तरंगित भइरहेका बेला नेपाल सँग सिमाना जोडिएको उत्तराखण्डका मुख्यमन्त्रीले मुख खोलेका हुन् ।
भारतले लामो समयदेखि अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबाट उसका सेना फिर्ता जानुपर्ने सार्वजनिक अभिव्यक्ति ओलीले उक्त कार्यक्रममा दिएका थिए । तर ओलीको यस भनाइको जवाफ फर्काउँदै सुदूरपश्चिम प्रदेश सँग सिमाना जोडिएको भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानीलाई भारतीय भूमि बताउँदै यो भारतमै रहने जिकिर गरेका हुन् ।
कालापानी अतिक्रमण बारेमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको बुधबार जवाफ फर्काउँदै उनले कालापानी क्षेत्र भारतकै भूमि रहेको बताएका हुन् । भारतीय समाचार अनलाइन अमर उजालाका अनुसार मुख्यमन्त्री सिंहले भनेका छन,’जुन कुरा नेपालले भनिरहेको छ, त्यो एकदमै चिन्ताजनक कुरा हो । कालापानी भारतको भू भाग हो र यो भारतकै भू भागका रुपमा रहिरहने छ ।’
भारतीय पक्षले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित कालापानी क्षेत्र आफ्नै भएकाले यसमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको कुनै अर्थ नरहेको पनि जिकिर गरेको छ । मुख्यमन्त्री सिंहले नेपालका प्रधानमन्त्री केपी ओलीको भनाइबारे आफु जानकार रहेको बताउँदै आफ्नो भूमिबाट सेना हटाउने कुरै नहुने पनि उल्लेख गरेका छन् ।
जम्मु – कश्मी र लद्दाखलाई टुक्राउने क्रममा भारत सरकारले एक महिना अघि सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा राखेको थियो । त्यसपछि नेपालमा लगातार भारत विरोधी प्रदर्शन भइरहेको छ । नेपालका प्रधानमन्त्रीले सोमबार यस मामिलामा बोल्दै नेपाली भूमि कालापानी क्षेत्रबाट तुरुन्त सैनिक हटाएर खाली गर्न भनेका थिए ।
यसबारेमा थप बोल्दै मुख्यमन्त्री वार्ताको माध्यमबाट समाधान खोज्नु पर्ने पनि उल्लेख गरेका छन् । उनले नेपाल भारतको मित्र राष्ट्र भएकाले वार्ताबाट समस्याको हल गर्नुपर्ने बताए । उनले नेपालको कार्यशैली माथि पनि प्रश्न उठाउँदै भारत माथि गरिएको विरोध पनि उचित नभएको जिकिर गरे । थाहाखबर बाट