स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु) को चुनाव जितेपछि कैलालीको अत्तरियामा नेपाल विद्यार्थी संघले बिजयी र्याली निकालेको छ ।
बुधबार सम्पन्न निर्बाचनमा नेबिसंघले अखिल संयुक्तलाई क्लिन स्विप गरेपछि खुशियालीमा र्याली निकालेको हो । र्यालीले बिजयी उम्मेदवार सहित बजार परिक्रमा गरेको थियो।
र्यालीलाई सम्बोधन गर्दै सभापति भुबन महराले क्याम्पसका बिद्यार्थीको हकहितमा काम गर्ने बताए । उनले आफ्नो अघिल्लो कार्यकालका केही अधुरा कार्यहरु पूरा गर्ने बताए ।
र्यालीमा नेबिसंघ समर्थक बिद्यार्थीहरु सहित माउ पार्टी कांग्रेसका नेताहरू पनि सहभागी थिए । मत परिणाम अनुसार नेबिसंघ सभापति सहित सबै पदमा बिजेता बनेको छ।
बमको हार्दिकता
स्वबियु चुनावमा पराजित अखिल संयुक्तका सभापतिका उम्मेदवार बम बहादुर बिकले पनि सबै मतदाता बिद्यार्थीलाई धन्यवाद दिएका छन् ।
उनी नेबिसंघका उम्मेदवार महरा संग ६३ मतले पराजित भएका हुन । महराले ४ सय ४१ मत पाउँदा बमले ३ सय ७८ मत पाए। उक्त क्याम्पसमा यस अघि पनि दुई निर्बाचन नेबिसंघले जितेको थियो ।
यद्यपि बमले पाएको मत पनि अर्थपूर्ण रहेको उनका समर्थकहरुले बताएका छन् । बम विद्यार्थी माझ लोकप्रिय नेताका रूपमा परिचित थिए।
बाम निकट बिद्यार्थी संगठन को गठबन्धन भएपनी भोटर भने उक्त क्याम्पसमा बाम निकट कम नै रहेका थिए।
बम माओवादी निकट अखिल क्रान्तिकारीको प्रतिनिधित्व गर्दछन् । अघिल्लो स्वबियु चुनावमा बम र महरा एकै टिमबाट चुनाव लडेका थिए।
चुनावमा खटिएका कांग्रेस नेताहरुको बुझाईमा भुबन एक सय देखि डेढ सय मतको मतान्तरमा चुनाव जितिने आकंलन थियो तर परिणामले त्यस्तो देखाएन ।
चुनावमा पराजित भएपछि बम ले सामाजिक संजाल फेसबुकमा लेखेका छन् :
प्रिय दुर्गालक्ष्मी बहुमुखी क्याम्पस परिवार नमस्कार
शब्दहरू थोरै छन् आज,
तर मनमा धेरै भावना छन्।
सर्वप्रथम निर्वाचन लाई सहज वातावरणमा सम्पन्न गर्न सहयोग गर्नुहुने बिद्यार्थी साथीहरु गुरुबर्ग, सुरक्षाकर्मी, पत्रकार, नेतागण तथा सम्बन्धित सम्पुर्णमा हार्दिक धन्यबाद ब्यक्त गर्दछु।
दुर्गालक्ष्मी बहुमुखी क्याम्पस मेरो घर हो,
र यहाँका प्रत्येक विद्यार्थी, शिक्षक, कर्मचारी –
तपाईंहरू मेरो परिवार।
यो निर्वाचन मेरो लागि केवल एउटा चुनाव मात्र थिएन,
यो यात्रामा मैले तपाईंहरू सबैको माया, साथ, र विश्वास पाएको छु।
कसैले हाँस्दै समर्थन गर्नुभयो,
कसैले चुपचाप नजर झुकाएर मप्रति भरोसा राख्नुभयो।
त्यो विश्वास– त्यो भावना–
मेरो लागि जीवनभरको सम्पत्ति हो।
परिणाम जे भए पनि,
म तपाईंहरूको मायाबाट धनी बनेको छु।
म जान्दछु,
हाम्रो बाटो सजिलो थिएन,
तर तपाईंहरूको साथले मलाई अगाडि बढ्ने हिम्मत दियो।
म सधैं तपाईंहरूको साथ रहनेछु –
जीतको घडीमा होइन,
हारको क्षणमा पनि।
दुर्गालक्ष्मी क्याम्पस परिवार –
म तपाईंहरू सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।
तपाईंहरूको विश्वास मेरो लागि प्रेरणा हो,
र तपाईंहरूको मायाले मेरो जीवन उज्यालो बनाएको छ।
साथ थियो, साथ छ, र साथ रहनेछ।
यो केवल शुरूवात हो…
बधाई छ विजयी साथीहरूलाई
जित्नु शुभ हो, तर जिम्मेवारी अझ ठूलो हुन्छ
आशा छ, तपाईंहरूको जितले विद्यार्थीहरूको हरेक समस्या समाधान हुनेछन ।
धन्यवाद,
बम बहादुर बि:क !!
#स्ववियु_निर्वाचन_२०८१ #dlmcrevolutionary #DLMC