सुदूरपश्चिम प्रदेशमा चट्याङ लागेर एकैदिन तीन जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।
बाजुरा, बझाङ र डोटीमा बुधबार राति हावाहुरीसँगै वर्षा हुँदा विभिन्न स्थानमा चट्याङ परेको थियो । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार, बाजुराको बुढीगंगा नगरपालिकाको तल्लोकुटीमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।
बुढीगंगा नगरपालिका–१, तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनकी नौ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको हो ।
डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति सायल गाउँपालिका–६, दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ परेको थियो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीको मृत्यु भएको हो ।
यस्तै, लहरी नागरीकी १० वर्षकी छोरी तारा नागरी, ८ वर्षका छोरा अविशेक नागरी, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुशी नागरी घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको एसपी शर्माले बताए ।