‘अब धनगढी दौडिन्छ’ को एघारौं संस्करण वैशाख १ गतेको आयोजना हुने भएको छ।
यो बर्ष 'धनगढी हाफ म्याराथन’ को मुख्य प्रायोजकको रुपमा धनगढीस्थित चैतन्य पाठशालाले साथ दिने भएको छ ।
धनगढी जेसिसले मंगलबार पत्रकार सम्मेलन गर्दै ‘अब धनगढी दौडिन्छ’भन्ने नाराका साथ आयोजना हुने धनगढी हाफ म्याराथनको मुख्य प्रायोजक र तयारीका बारेमा जानकारी दिएको हो ।
मुख्य प्रायोजक भएबाफत चैतन्य पाठशालाले प्रथम पुरुस्कार तथा एक हजार टिसर्ट उपलब्ध गराउने धनगढी जेसिस २०२५ का कार्यकारी उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दीपक गौतमले जानकारी दिए ।
धनगढी हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए । त्यस्तै हाप म्याराथनको मुख्य प्रर्बधकको रुपमा जेसिस एभरेष्ट इङ्लिस स्कुल रहेको उनले बताए ।
धनगढी हाफ म्याराथन धनगढी चौराहादेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढीको मिलनचोक पुगेर धनगढी चौराहमै पुगेर समापन हुने उनले बताए ।
प्रतियोगिताअन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिने जनाइएको छ ।दुई वटै विधाका विजेताले नगद ७ हजार ५ सय, उपविजेताले नगद ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय प्राप्त गर्ने प्रतियोगिता संयोजक गौतमले बताए ।
धनगढी जेसिजले सन् २०१४ देखि नयाँ वर्षको अवसरमा धनगढीको समग्र विकासका लागि 'अब धनगढी दौडिन्छ' भन्ने नाराका धनगढी हाफ म्याराथन प्रतियोगिता गर्दै आएको छ ।