कैलाली – जिल्लाका किसानले क्यामोमाइल खेती गरी उत्पादन गरेको सुगन्धित तेल बिक्री हुन नसक्दा घरमै थन्क्याएर राख्न बाध्य भएका छन् । बजार मूल्य नपाउँदा किसानले तेल बिक्री गर्न नपाएका हुन् । क्यामोमाइल खेती गरेका किसानले उत्पादन गरेको दुई सय ५१ किलो सुगन्धित तेल बिक्री हुनसकेको छैन । सोको बजार मूल्य रु एक करोड २५ लाख ५० हजार रहेको छ । क्यामोमाइल प्रशोधन गरी तयार गरिएको सुगन्धित तेल प्रतिकिलो बजारमा रु ५० हजार बढीमा बिक्री हुने गरेको छ । यस वर्ष तेल खरीद गर्ने व्यापारी नआउँदा तेल बेच्न नपाएको क्यामोमाइल खेतीमा संलग्न शुक्लाफाँटा नगरपालिका –६ कसरौलका किसान बालाराम घिमिरेले बताए । तीन वर्षदेखि क्यमोमाइल खेती गर्दै आएका घिमिरेले तीन कठ्ठा जग्गामा एक किलो सुगन्धित तेल उत्पादन गरेका छन् ।
“एक जना व्यापारी मात्रै तेल खरीदका लागि पुगे पनि बजार मूल्यभन्दा आधा सस्तोमै खरीद गर्ने भनेपछि तेल बिक्री गरेका छँैनौँ”, उनले भने, “यस क्षेत्रका १६ किसानले १२ किलो सुगन्धित तेल उत्पादन गरेका छन् ।” गत वर्ष क्यामोमाइलको प्रशोधित सुगन्धित तेल किसानले रु ५५ हजार प्रतिकिलोका दरले बिक्री गरेका थिए । शुक्लाफाँटाको कसरौल, बेलडाँडी, सिमलफाँटा र जुडाका गरी १२३ किसानले १२० किलो प्रशोधित सुगन्धित तेल उत्पादन गरेका छन् ।
सोको बजार मूल्य रु ६० लाख छ । बेदकोट नगरपालिकाका धर्मपुर, जडेपानी र बैतडाका किसानले ९७ किलो उक्त तेल उत्पादन गरेका छन् । त्यसको बजार मूल्य रु ४८ लाख ५० हजार छ । यसैगरी, महाकाली नगरपालिकाको दोधारा चाँदनीका किसानले १० किलो र पुर्नवास नगरपालिकाका किसानले १२ किलो तेल उपादन गरेका छन् । उत्पादन गरेको सबै सुगन्धित तेल बिक्री भएको छैन । “दुई वर्ष क्यामोमाइल खेती गरेर तेल उत्पादन गरी चाहे अनुरुपकै आम्दानी भयो”, पुर्नवास–३ अमरबस्तीका किसान विमला चौधरीले भने, “यस वर्ष असिनापानीले गर्दा तेलको उत्पादन कम भयो, त्यसमै व्यापारी तेल खरीद गर्न आएनन, उत्पादित तेल घरमै थन्क्याउनु परेको छ।” यसअघि नेपालगञ्ज र काठमाडौँबाटै व्यापारी घरमै पुगेर तेल खरीद गरेर लैजाने गरेका उनले बताए ।
बजारमा क्यामोमाइल तेलको बढ्दो व्यापार रहे पनि व्यापारीले आफूले चाहेको मूल्यमा मात्रै खरीद गर्न थालेपछि यस क्षेत्रका किसान मर्कामा परेका छन् । दुई वर्षअघि बेलडाँडीका १३ किसानले मात्रै क्यामोमाइल खेती गरेका थिए । प्रगति महिला जडीबुटी प्रशोधन उद्योग समितिका कर्मचारी धर्मबहादुर खड्काले भन्नुभयो, “क्यामोमाइलबाट मनग्य आम्दानी हुन थालेपछि ७० किसान यस खेतीमा लागेका छन्।”
उनका अनुसार गत वर्ष १३ किसानले चार बिघा जग्गामा आठ किलो ७४० ग्राम क्यामोमाइलको तेल उत्पादन गरेका थिए । यस वर्ष ७० किसानले झण्डै १८ बिघा जग्गामा ४४ किलो क्यामोमाइलको सुगन्धित तेल उत्पादन गरेका छन्। “तेल उत्पादन गरी भण्डारण कक्षमा राखेका छौँ”, खडकाले भने, “खरीद गर्ने व्यापारीको प्रतिक्षा गर्दैछौँ, गत वर्ष यसबेला तेल बिक्री भइसकेको थियो, अझै व्यापारी तेल खरीदका लागि पुगेका छैनन् ।” रासस
सम्बन्धित खबर भारतीय प्रतिबन्धका कारण जडीबुटी खेती गर्ने किसान मारमा