सडकमा प्रर्दशन गर्दा फोहर गर्नेहरुलाई जरिवाना गर्दै आएको काठमाडौं महानगरपालिकाले बुधबारको प्रर्दशनमा फोहर नगरेको भन्दै शिक्षकलाई धन्यवाद दिएको छ ।
काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जाल मार्फत् आन्दोलनरत शिक्षकहरुलाई धन्यवाद दिएका छन् ।
'तपाईंहरुले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो' उनले लेखेका छन्, 'सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीलाई पनि दिनुहोला ।'
सबै मिलेर चेतनशील समाजको निर्माण गर्न आग्रह गर्दै शाहले यसकालागि शिक्षकहरुको झन् ठुलो जिम्मेवारी र भुमिका हुने स्मरण गराएका छन् ।
आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीको पढाइ नबिगारी कार्यक्रम गर्न आग्रह गर्दै उनले गाउँ गाउँमा सिंहदरबार भन्ने नारा मात्र भएको भन्दै कटाक्ष पनि गरेका छन् ।
'आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस्' उनले लेखेका छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभबाट शिक्षकहरु काठमाडौं जम्मा भएर बुधबार माईतीघर बानेश्वर खण्डमा प्रर्दशन गरेका थिए ।
प्रर्दशनका अघिल्लो दिन महासंघले ६ बुँदे निर्देशन जारी गर्दै सडकका बोट विरुवा, दुबो, ट्राफिक डिभाईडर तथा अन्य भौतिक तथा जैविक बस्तुको सुरक्षा गर्नु पर्ने र सडकमा फोहर नफाल्न भनेको थियो ।
प्रर्दशनका नाममा सडकमा क्षती र फोहर गर्ने आयोजकलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराउने भए पछि महासंघले यो विषयलाई बढि महत्व दिएको थियो ।