सुदूरपश्चिम प्रदेशमा रानाथारु समुदायले आज खख्डेहरा पर्व मनाउँदै छन् ।
होरीको महत्वपूर्ण एवम् विशेष दिनको रुपमा सो समुदायका मानिसले खख्डेहरा पर्व मनाइ रहेका हुन । यस पर्वमा बिहानै गाउँभन्दा पर सडकमा खख्डेहरा फुटाउने गरिन्छ । गाउँका पुरुष, महिलाले खख्डेहरा फुटाउने गर्दछन् ।
खख्डेहरा फुटाएसँगै आजबाट पुरुषको तर्फबाट होरी समापन हुने गरेको जनाइएको छ । होरी यो समुदायको सबैभन्दा ठुलो पर्व हो । माघ पूर्णिमाबाट सुरु भएको यो पर्व एक महिना आठ दिनसम्म मनाउने गरिन्छ ।
होरीको अन्तिम दिनलाई खख्डेहरा पर्वको रुपमा मनाउने गरेको धनगढी गाउँका पध्ना (भलमनसा) भज्जी रानाले बताए ।
उनका अनुसार खख्डेहरा पर्वमा बिहानै पाँच बजेतिर खख्डेहरा फुटाइ सकेपछि पध्ना र चाकरको घरमा होरी खेल्ने, फगुइ माग्ने लगायतको चलन रहेको छ । साँझतिर खानपान गरेर एक वर्षका लागि होरीलाई बिदाइ गर्ने गरेको पध्ना रानाले बताए ।
खख्डेहरामा माटोको सात वटा गोली र खपरा लगेर सेलाउने गरिन्छ । सात गोलीलाई सात भवानीको रुपमा मान्ने गरेको पध्ना रानाको भनाइ छ । “राक्षसहरूलाई पराजित गरी भवानीहरूले रक्षा गरेकोले साँधैभरि यसरी नै साथ दिइरहनू भनेर पूजा गरिन्छ”, उनले भने,“त्यसपछि खख्डेहरा फुटाइन्छ ।” खख्डेहरामा खपरा फुटाउने गरेको बताइएको छ ।
रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा पनि दिएको छ । खख्डेहरा फुटाएर पुरुषले आफ्नो होरी समापन गर्ने गरे पनि महिलाले भने चैतको चराइँमामात्रै होरी समापन गर्ने गरेको जनाइएको छ ।