दार्चुला – नेपाली भूमि लिपुलेक सम्म पुग्न भारतले सडक निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ । दार्चुला सदरमुकामको सीमावर्ती बजार धारचुलाबाट उत्तरतिर लिपुलेक पुग्ने करिब ८५ किलोमिटर सडक निर्माण कार्यलाई भारतले सन् २०२० सम्म पूरा गर्ने लक्ष्य लिएको छ । सीमा सडक संगठन (बिआरओ) ले निर्माण गर्ने जिम्मा लिएको उक्त सडक सन् २०१४ मै पूरा हुनुपर्ने भए पनि कडा चट्टानी भूभागका कारण २७ किलोमिटर क्षेत्रमा सडक बन्न सकेको छैन ।
भारत सरकारले प्राथमिकतामा राखेको उक्त सडकको भारत तिरको भूभाग मात्रै सडक बन्न नसकेको हो भने कालापानी क्षेत्रमा १० किलोमिटर (नाबिढाङ सम्म) सडक निर्माण गरिसकेको छ । नाबिढाङबाट ९ किलोमिटर उत्तरतिर लिपुपास सम्म सडक निर्माण गर्ने कार्य जारी राखेको छ । भारतीय क्षेत्र छियालेक देखि कालापानी सम्म (करिब ३९ किलोमिटर) भारतले सडक निर्माण गरी नियमित गाडीमा गस्तीसमेत गर्ने गरेको छ ।
भारतीय क्षेत्रमा धारचुलाबाट उत्तरतिर महाकाली नदी किनारै किनार ३८ किलोमिटर (गर्बाधार भन्दा उत्तरतिर) सम्म सडक निर्माण गरेको छ भने सो क्षेत्रबाट करिब २७ किलोमिटर (छियालेक सम्म) सडक निर्माण कार्य जारी राखेको छ । यो क्षेत्रको बीचमा पर्ने मालपा, लमारी क्षेत्रमा बीच बीचमा सडक निर्माण गर्ने कार्य जारी राखेकोले २७ किलोमिटर मध्ये पनि आधा भन्दा बढी भूभागमा सडक निर्माण भइसकेको र केही चट्टानी भूभागमा मात्रै सडक बन्न बाँकी रहेको छ ।
नेपालको सडक ४० किलोमिटर मात्रै भारतले आफ्नो भूमि हुँदै लिपुलेक सम्मको सडक निर्माण कार्यलाई तीव्रता दिइरहँदा नेपाल तिर चीन सँग जोड्ने सीमा सडक ४० किलोमिटरमै खुम्चिएको छ । आर्थिक वर्ष २०६४÷०६५ देखि निर्माण सुरु गरिएको दार्चुला तिंकर सडकमा हाल सम्म आइपुग्दा १ अर्ब ३३ करोड खर्च गरेर ४० किलोमिटर मात्रै ट्रयाक खोल्न सकेको छ ।
यद्यपि दुई वर्ष अगाडिबाट महाकाली करिडोर अन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाको दक्षिणी क्षेत्रमा पनि यो कार्यक्रम अन्तर्गत सडक निर्माण गर्ने काम भई रहेको दार्चुला तिंकर सडक योजनाका सूचना अधिकृत इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए । ‘४० किलोमिटर त सुन्सेरासम्म मात्रै हो, बैतडी, डडेल्धुरा र दार्चुलाको दक्षिणतिर निर्माण भएको सडकको ट्रयाक जोड्ने हो भने अहिलेसम्म ६० किलोमिटर भन्दा बढी सडक निर्माण भएको छ’ सूचना अधिकारी रैखोलाले भने । थाहाखबरबाट