प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गरेकाले महिलाहरूको समान सहभागिता आवश्यक भएकोमा जोड दिए ।
'रथको एउटा पाङ्ग्रो मात्रै चलेर गाडी गुड्न सक्दैन, त्यस कारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजीक्षेत्रसँग मिलेर काम गर्नुपर्छ,' प्रधानमन्त्री ओलीले भने, 'राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई पाइसकेका छौँ । राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । यो खुसीको विषय हो, तर हामी यसमा मात्रै सन्तुष्ट मानेर बस्नु हुँदैन । हामीले शिक्षा, उद्यम र रोजगारी आदि क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ ।'
सरकार र निजीक्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजीक्षेत्रलाई प्रोत्साहन गरिएको बताउँदै उनले अर्थतन्त्रको विकासका सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजीक्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्त्व दिन तत्पर रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, 'हामी अघि बढ्नुपर्छ । पछाडि फर्कनु हुँदैन । ब्याक गेयर त कहिलेकाहीँ घुम्तीमा मात्रै लगाउने हो । लोकमार्गमा ब्याक गेयर लगाइँदैन । लोकतन्त्र हाम्रो राजमार्ग हो ।'
उनले कानुनहरू काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै उनले सम्मेलनबाट प्राप्त सुझावलाई हेरेर सरकारका नीति, व्यवहार र कानुनहरूलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले निजीक्षेत्रको सहकार्यमा औद्योगिकरणको प्रवर्द्धनलाई प्राथमिकता दिएको बताए ।
उनले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारीलगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको अवगत गराए । कार्यक्रममा प्रधानमन्त्री ओलीबाट राष्ट्रिय फुटबल खेलाडी प्रिती राई र अभियन्ता रुक्साना कपालीलाई सम्मान गरिएको थियो ।