नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र हुने अन्तरघातलाई रोगको संज्ञा दिएका छन् । उनले यस्तो रोग केही ब्यक्तिलाई लागेको बताए ।
कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीका केही व्यक्तिमा लागेको रोगका कारण समस्या भइरहेको तर्क गरे ।
‘हाम्रा साथीभाइमा केही रोग लागेको छ;’ उनले भने, ‘अन्तर्घात भन्ने एउटा रोग छ । त्यसलाई सदासदाका लागि निर्मूल गर्नुपर्छ । पार्टीभित्र लड्ने त ठीक हो । तर, चुनाव लड्दा र भोट हाल्दा एक भएर जानुपर्छ ।’
अहिले प्रतिनिधिसभामा समानुपातिक समावेशीका आधारमा राजनीतिक प्रतिनिधित्व भएका कारण कुनै पनि दललाई बहुमत ल्याउन समस्या रहेको देउवाले बताए ।
‘अहिले पनि बहुमत कसैको छैन, भोलि पनि बहुमत ल्याउने सम्भावना कम छ,’ देउवाले भने, ‘तर, हाम्रो पार्टी एक भएर लागेको खण्डमा भने एक्लै बहुमत प्राप्त गर्न सक्छ । त्यसैले पार्टीका सबै साथीहरूलाई मतभेद अलग राखेर लाग्न आग्रह गर्दछु । सुदूरपश्चिमबाटै त्यसको सुरुवात होस् ।’
देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई वर्षपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति रहेको स्मरण गराए ।
‘दुई वर्ष ओलीजीले सरकार चलाएपछि प्रधानमन्त्री मलाई बनाउने सहमति भएको छ,’ उनले भने, ‘हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो । एमालेको पनि कांग्रेस हो । अहिलेको आवश्यकता भएकाले मुख्य प्रतिस्पर्धीसँग मिलेर बसेका छौँ ।’