‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई धनगढी उपमहानगरपालिका वडा नम्बर ४ ले साथ दिएको छ । उक्त वडाले अवार्डलाई प्रबद्र्धकका रुपमा साथ दिएको हो । प्रबद्र्धक सम्बन्धी सम्झौतामा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धीबहादुर खड्का र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे । सम्झौतापछि वडाध्यक्ष खड्काले अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताए ।
यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धक र धनगढी उपमहानगरपालिका वडा नम्बर १, २ र ३ ले प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेको छ । यस्तै अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको छ । चैत ७ गते धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशालाले पनि सह-प्रायोजकका रुपमा साथ दिएको छ ।
छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका सचिव विराज रोस्याराले जानकारी दिए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने रास्याराले जानकारी दिए ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।