नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेसँग मिलेर सरकार चलाउँदा दुवै पार्टीको रोग सरेको बताएका छन् ।
कैलालीको टीकापुरमा आज सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर जाँदा अलिअलि कांग्रेस र अलिअलि एमालेको रोग सर्यो,’ उनले भने, ‘अहिले त्यो रोगको उपचार गरिरहेका छौँ । रोगको उपचार जनताको घरदैलोमा गएर हुन्छ भनेर हामी सोहीअनुसार अगाडि बढेका छौँ ।’
प्रचण्डले अब कांग्रेस र एमालेसँग रोग सर्नेगरी एकता गर्ने पक्षमा नरहेको बताए । अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान सुरु गर्दा माओवादीलाई सरकारबाट बाहिर राखिएको जिकिर गर्दै भने, ‘त्यो अभियानले जनतामा आशा जगाउँदै गएको थियो । तर, हामीलाई सरकारबाट बाहिर पारियो । बाहिर आए पनि सुशासन, सामाजिक न्याय र विकासको मुद्दा जनतामा ल्याएर आएका छौँ ।’
प्रचण्डले कांग्रेस र एमालेले आफूप्रति कुनै दयामाया नराखेको पनि बताए । ‘म तीनपटक प्रधानमन्त्री भएको कांग्रेस र एमालेले माया गरिदिएर होइन,’ उनले भने, ‘जनताले चाहेर भएको हुँ । अब २०८४ को निर्वाचनमा माओवादी केन्द्र २०६४ सालको जस्तै एक नम्बर पार्टी बन्छ ।’
प्रचण्डले रेशम चौधरीलाई जोखिम उठाएर जेलबाट छुटाएको दाबी गरे । ‘टीकापुर घटनामा थुप्रै जालझेल भएको मलाई थाहा छ,’ उनले भने, ‘थारुको बच्चा हो छुटाउनुपर्छ भनेर रेशम चौधरीलाई जोखिम उठाएर छुटाएको हुँ । तर, अहिले रेशम कताकता छन् । रेशमले पनि माओवादीमै आउनु उचित हुन्छ । टीकापुर थारु विद्रोह थारुहरूको अधिकारका लागि भएको हुँदा त्यसको म सम्मान गर्न चाहन्छु ।’