धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट चार जना फुटबल खेलाडी छनोट भएका छन् ।
नेपाल सुपर लिग एनएसएलको आगामी सिजनका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रङ्गशालामा गरेको ट्यालेन्ट हन्टमा चार जना खेलाडी छनौट भएका हुन् ।
छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमति सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मीडफिल्डर) रहेका छन् ।
कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोग र एसपीए कलेजको सहयोगमा सम्पन्न ट्यालेन्ट हन्टमा छनोट भएका चार जना खेलाडी मध्येबाट एक जना खेलाडी नेपाल सुपर लिग २०२५ का लागि धनगढी एफसीको टिममा छनोट हुनेछन् ।
३ जना खेलाडीलाई ड्रिमर्स अफ धनगढी नामकरण गरी एसपीए कलेजमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने डीएफसीको मातृ संस्था गो ड्रिमर्सले जनकारी दिएको छ ।
चार जनामध्ये कसले टिमबाट खेल्ने भन्ने अन्तिम टुङ्गो भने सी क्याटेगोरीको अक्सनको समाप्ति पछि हुनेछ ।
नेपाली क्रिकेट टोलीका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरीलाई आफ्नो एम्बेसडर नियुक्त गरेको धनगढी एफसीले यस अघि नै नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिश रत्न छुन्जुलाई आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
त्यस्तै, क्लबले लेबनानी प्रिमियर लिग क्लब बुरज एफसीका स्ट्राईकर अहमद हिजाजीलाई लोनमा साइन गरेको छ ।
हिजाजीले एनएसएल २०२३ मा धनगढी एफसीबाट खेलेका थिए । जहाँ उनले ४ गोल गर्दै टिमलाई फाइनलसम्म पु¥याएका थिए ।
धनगढी एफसी एनएसएल २०२१ र एनएसएल २०२३ दुवै संस्करणमा उपविजेता बनेको थियो ।
धनगढी एफसीले नेपाल सुपर लिगको आगामी सिजनका लागि जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ भने सहायक प्रशिक्षकमा धनगढीका भिष्म भाट रहेका छन् ।