धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को नवौं खेलमा डडेल्धुराको पर्शुराम नगरपालिका विरुद्ध कैलालीको लम्की नगरपालिकाले सहज जित निकालेको छ ।
समूह डी अन्तर्गत प्रतियोगीतामा पहिलो खेल खेलको लम्कीले पर्शुरामलाई ११ रनले पराजित गर्यो । लगातार दोश्रो खेलमा पराजय व्यहोरेको पर्शुराम प्रतियोगीताबाट बाहिरिएको छ ।
समूह डी कै अघिल्लो खेलमा शुक्लाफाँटा नगरपालिका विजयी भएको थियो । अब लम्की र शुक्लाफाँटा बीच खेलिने खेलको विजेता टोली सेमिफाइन प्रवेश गर्नेछ ।
लम्कीलाई जित दिलाउन डम्मर माझीले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका माझीले १२ रन खर्चर्दै ३ विकेट चट्काए । माझी म्यान अफ दी म्याच चुनिए । त्यस्तै ३.४ ओभर बलिङ गरेका कवि बमले १८ रन खर्चेर ३ विकेट नै चट्काए । शुरेश भण्डारीको नाममा २ विकेट रहँदा दिपक शाहीले १ विकेट लिए ।
११६ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनाउन मात्र सक्यो । पर्शुरामले पावर प्लेमा एकदम सुस्त खेल्यो । ३६ बलमा उस्ले ३ विकेट गुमाउँदै मात्र १८ रन बनायो । पावर प्लेमा उस्ले एउटा पनि बाउड्री हिर्काउन सकेन ।
पर्शुरामका लागि मान साउँदे सर्वाधिक २७ रन बनाए । त्यस्तै किरन धामीले २२ रन बनाउँदा आयुश्मान शाहीले १७ रनको योगदान दिए । अन्य ब्याटरले उल्लेखनीय प्रर्दशन गर्न सकेनन ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लम्कीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । लम्कीका लागि ओपनर ब्याटर कमल बिष्ट र अर्जुन साउँदले ४१ रनको साझेदारी गरे ।
बिष्टले ३४ रन बनाउँदा साउँदले १८ रन बनाए । १० ओभरमा मात्र १ विकेट गुमाएर ६८ बनाएको लम्कीले त्यसपछि भने लगातार विकेट गुमायो । उसका लागि रबिन भण्डारीले थप १८ रन जोड्दा अन्य ब्याटरहरुले दोहोरो अंकको रन जोड्न सकेनन ।
पर्शुरामका लागि किरन धामी र आयुश्मान शाहीले समान तीन तीन विकेट लिए भने दिल बोहराले एक विकेट लिए ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ ।
पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।
तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।
लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ ।
प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ ।
सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।